Logo

Breaking News 1

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६ आजदेखि सुरु



काठमाडौ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६’ आजदेखि सुरु गरेको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै अभियान नेपालले सार्वजनिक शिक्षाका विभिन्न सवालहरूलाई सरोकारवालाहरूमा सचेतना गर्ने र नीति निर्माण तहमा आवश्यक वकालत तथा दवाब सृजना गर्ने उद्देश्यका साथ विश्वका १५० भन्दा बढी देशहरुमा एकै साथ शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु भएको जानकारी दिएको हो ।

आजदेखि १४ गतेसम्म ‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने मूल नाराका साथ विभिन्न सचेतना र वकालतमूलक क्रियाकलाप गरिने योजना रहेको छ । नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गर्दै शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यस व्यवस्थालाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा कुल राष्ट्रिय बजेटको १५ देखि २० प्रतिशत साथै कुल गार्हस्थ्य उत्पादनको ४–६ प्रतिशत लगानी गर्ने प्रतिबद्धता गरेको भएता पनि कार्यान्वयनमा भने सो अनुसार अपेक्षित प्रगति हुन नसकेको अभियानको गुनासो छ ।

संघीय, प्रादेशिक तथा स्थानीय सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको लगानी अभिवृद्धि गर्ने र त्यसको प्रभावकारी र दक्षतापूर्वक परिचालन गर्ने दिशामा अगाडी बढ्नुपर्ने देखिएको भन्दै यस कार्यमा यस वर्षको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहले रचनात्मक योगदान पुरÞ्याउनेमा अभियानको विश्वास छ ।

अभियानका क्रममा संचालन गरिने क्रियाकलाप
वैशाख ७ गते ःपत्रकार सम्मेलन
वैशाख ८ गते ःनागरिक भेला तथा प्रर्दशनी कार्यक्रम
वैशाख ११ गते ःशिक्षामा लगानी वृद्धिका लागि नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरु, राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, राजश्व विभाग लगायत शिक्षा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम
अभियान अवधिभर ः जनचेतना अभिवृद्धिका लागि विभिन्न स्थानीय तथा राष्ट्रिय एफएम रेडियोमार्फत सार्वजनिक सेवा सन्देश प्रसारण साथै शिक्षाका विभिन्न मुद्दाहरुका बारेमा जानकारीमुलक पोस्टहरुका साथसाथै सामाजिक सञ्जाल मार्फत अभियानहरु ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १० : ४८ बजे