चितवन । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा बराबर रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० बाट रु १५ ले वृद्धि हो । त्यसैगरी मझौला अण्डाको मूल्य रु ४१५ तोकिएको छ, जुन यसअघि रु ४०० थियो ।
सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उच्च भएको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट आयात घट्नुले पनि आपूर्ति प्रभावित भएको बताइएको छ ।
गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा कारोबार भएको थियो ।
यद्यपि मूल्य वृद्धि भए पनि किसानहरू अझै लागत मूल्यभन्दा तल रहेको बताउँछन् । अण्डा उत्पादनको लागत प्रतिगोटा करिब रु १९.१२ पर्ने हुँदा प्रतिक्रेट लागत रु ५७४ पुग्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया