Logo

विश्व

प्रहरी, व्यवसायी र मजदुरबीच अन्तरक्रिया : ट्राफिक सुधारमा सहकार्यको जोड



काठमाडौं । ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख नवराज अधिकारीले ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको बताए ।
उनले विगतको अवस्थासँग तुलना गर्दै अहिले ट्राफिक व्यवस्थापन अझ सुदृढ र प्रभावकारी बनेको उल्लेख गरे । साथै, ट्राफिक प्रहरीबाट हुने कुनैपनि अपारदर्शी वा गैरजवाफदेही व्यवहारबारे जानकारी दिन आग्रह गर्दै त्यस्तो अवस्थामा तत्काल कारबाही गरिने स्पष्ट पारे।
उनले भने,‘पहिले हामी कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भन्ने कुरा हो । हामी पहिले भन्दा अझ सुदृढ र शसक्त्त भएर ट्राफिक व्यवस्थापन गरिरहेको छौं । यदी ट्राफिक प्रहरीको व्यवहार र ट्राफिक प्रहरीले पारदर्शिता विपरीत र जवाफदेहीता विपरितका त्यस्ता काम गरेका छन् भने जानकरी दिनुहोस् । हामी त्यसमा तत्काल एक्सन लिनेछौं । नराम्रो व्यवहार गर्ने छुट कसैलाई पनि छैन । सबैले पेसागत व्यवहार अनिवार्य रुपमा गर्नुपर्छ । सुधार गर्नुपर्ने ठाउँमा गछौं पनि ।’
अधिकारीले चालकका समस्या पनि रहेको स्वीकार गर्दै यातायात व्यवसायीहरूलाई एकजुट हुन र मजदुरको हकहितमा समान धारणा बनाउन आग्रह गरे।
अस्वस्थ प्रतिस्पर्धाले क्षेत्रलाई कमजोर बनाउने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो ।
साथै, चालकहरूलाई अभिमुखीकरण तथा तालिम दिन ट्राफिक प्रहरी तयार रहेको उनले बताए।
त्यस्तै कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरले समाजमा दोहोरो प्रवृत्ति रहेको टिप्पणी गरे।
उनले चालकबाट दुर्घटना हुने घटना भए पनि सर्वसाधारणबाट पनि चालकमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै एकतर्फी दृष्टिकोण सही नहुने बताए ।
उनले भने,‘हरेक कुरामा दोहोरोपन छ । हाम्रा चालकले मारेको घट्नाहरु पनि छन् तर सर्वसाधारणले पनि चालकलाई मारेको छन् । समाज एकोहोर चलेको छैन । एउटा औंलाले अरुलाई देखाउँदै गर्दा चारवटा औैंला आफूतिर नै हुन्छ । त्यो हामीले भुलेका छौं ।’
स्वाँरले चालक र परिचालकको जीवनयापन गाडीमै निर्भर रहेको भन्दै उनीहरू आफ्नो क्षेत्रप्रति संवेदनशील रहेको बताए ।
उनले चालक छान्नेकुरामा व्यवसायी सचेत हुनुपर्ने प्रश्न उठको बताउँदै भने,‘हाम्रो लालाबालाको पढाईदेखि सबै एउटा गाडीले गर्छ । अनि हामी संवेदनशील हुँदैनौं ? आजसम्म सरकारले चालक र परिचालकलाई प्रशिक्षण गर्न कति बजेट छुट्याएको छ त, उनीहरुलाई शिक्षा दिने काम सरकारको होइन्, हामीले त कसरी चिन्ने ? लाइसेन्स हामीले दिने हो र, जिम्मा दिनु त छान्छौं चालक ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ०९ बजे