Logo

विश्व

कम्बोडियाबाट उद्धार गरिएका २१ नेपाली स्वदेश फर्किए


२९ फाल्गुन २०८२, शुक्रबार  

138
Shares

काठमाडौं। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियाको स्क्यामिङ केन्द्रबाट उद्धार गरिएका २१ नेपालीलाई स्वदेश फर्काएको छ।
दूतावासका अनुसार, कम्बोडियाको सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल पठाइएको हो।
उद्धार गरिएका नेपालीहरू विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न गरिएका थिए। दूतावासले कम्बोडियामा अवैध रूपमा रहेका नेपालीहरूलाई +८५५१२२१५५७८, +८५५९३२०३६६६ र +८५५९६३४६५७८८ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
दूतावासका अनुसार, स्क्यामिङ केन्द्रमा काम लगाइएपछि राहदानी हराउने वा जफत हुने समस्याका कारण उद्धार प्रक्रिया सुरु गरिएको हो। उद्धार गरिएका मध्ये बिहीबार १६ जना र बुधबार तीन जनालाई स्वदेश फर्काइएको थियो।
कम्बोडियाको पर्यटन तथ्यांकअनुसार, सन् २०२१ मा १०१, सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४, र सन् २०२५ मा ९,६७६ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए।
दूतावासले वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेका मापदण्डअनुसार मात्र श्रम स्वीकृति लिन र प्रलोभनमा नपरी अवैध कार्यमा संलग्न नहुन सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ३ : ३७ बजे