Logo

विश्व

मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट


२६ फाल्गुन २०८२, मंगलबार  

138
Shares

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी रुपमै प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित हुन थालेका छन् । कम आपूर्ति भएपछि होटल तथा रेष्टुरेण्टहरुले केन्द्र सरकारसँग उद्योगका लागि निरन्तर ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् ।

कर्नाटकमा होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालनमै समस्या भइरहेको बताएका छन् । होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग ठूलो संकटमा परेको छ ।
उनले भने,‘सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै तेल कम्पनीहरूलाई व्यावसायिक सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ । तर होटल उद्योगका लागि सिलिन्डर बिना सञ्चालन सम्भव छैन । यो हाम्रो मुख्य ऊर्जा स्रोत हो ।’

माल्नाडले होटल उद्योगलाई पनि आवश्यक वस्तु ऐन अन्तर्गत राखेर नियमित रूपमा व्यावसायिक ग्यास सिलिन्डर उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । साथै, यसअघि १९ केजीको व्यावसायिक सिलिन्डरमा दिइँदै आएको १५० रुपैयाँ छुट हटाइएको र थप १४५ रुपैयाँ मूल्य वृद्धि गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उता तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसनले पनि राज्यभर होटल तथा साना खाद्य व्यवसायहरूमा एलपीजी अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघका नेता विक्रमराजा राजाका अनुसार साना व्यापारी र साना होटलहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछन् ।

सीमित आपूर्तिका कारण चेन्नईसहित तमिलनाडुका विभिन्न स्थानमा केही होटलहरूले मेनुमा रहेका परिकारहरू घटाउन थालेका छन् र उपलब्ध ग्यासको आधारमा मात्र सेवा सञ्चालन गरिरहेका छन् । यद्यपि घरेलु उपभोक्ताका लागि एलपीजी सिलिन्डरको आपूर्ति भने अवरुद्ध नभएको सम्बन्धित निकायले जनाएको छ । एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताका अनुसार घरेलु ग्यास आपूर्तिमा कुनै कमी छैन ।
उनले भने, ‘तेल कम्पनीहरूका अनुसार घरेलु एलपीजीको आपूर्तिमा अभाव छैन । व्यावसायिक सिलिन्डर भने हिजोदेखि वितरण गरिएको छैन, तर अस्पताल र शैक्षिक संस्थालाई अपवाद दिइएको छ ।’

यसैबीच, भारत सरकारले मंगलबार प्राकृतिक ग्यासको आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम घोषणा गरेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्व आपूर्ति शृंखला प्रभावित भएपछि सरकारले प्राथमिकता क्षेत्रलाई ध्यानमा राख्दै ग्यास वितरण, उपयोग र आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

सरकारी सूचनाअनुसार मध्यपूर्वको युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको छ । यसले गर्दा केही आपूर्तिकर्ताले ‘फोर्स मेज्योर’ लागू गर्दै ग्यासलाई प्राथमिकता क्षेत्रतर्फ मोड्न थालेका छन् । विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म जारी रहेमा ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने र त्यसको प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्नेछ । एएनआई

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  २ : ४२ बजे