धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कनर्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।
सबै निर्वाचन केन्द्रका मतदान अधिकृतसँग समन्वय जारी रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदम विष्टले पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । सबै क्षेत्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षा निकाय पुगिसकेको अवस्थामा अब बिहीबार बिहान सहजै मतदान हुने उनले बताए ।
सुदूरपश्चिमका धेरै स्थानमा प्रहरी सञ्चारको पहूँच रहेपनि केही स्थानमा भने सञ्चार सेटको समेत उपलब्धता नरहेको उनले बताए ।
सञ्चार सेटले काम नगर्ने केही स्थानमा मोबाइलबाट सम्पर्क गर्ने व्यवस्था गरिएको एसएसपी विष्टले बताए । बाजुराका दुई स्थानमा भने टेलिफोन सेवा समेत उपलब्ध नभएकाले भी–सेटको व्यवस्था गरिएको उनले बताए ।
विगतका निर्वाचनमा प्रदेशका केही स्थानमा धाँधली र अशान्ति भएको स्मरण गर्दै विष्टले यस स्थानमा यसपटक विशेष सुरक्षाको व्यवस्था गरिएको बताए । उनले निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था गरिएकाले ढुक्कसँग मतदानमा सहभागी हुन अपिल गरेका छन् ।
सुदूरपश्चिमका नौं जिल्लामा १५ वटा निर्वाचन क्षेत्र रहेका छन् । कैलालीमा–५, कञ्चनपुरमा–३, अछाममा २ निर्वाचन क्षेत्र रहेका छन् ।
त्यसबाहेक डडेल्धुरा, बैतड, दार्चुला, डोटी, बाजुरा र बझाङमा १÷१ वटा निर्वाचन क्षेत्र रहेका छन् । सुदूरपश्चिममा कुल मतदाताको संख्या १७ लाख, १६ हजार ६ सय ६० रहेको छ ।










प्रतिक्रिया