Logo

विश्व

नेतान्याहुको कार्यालयमा क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी, इजरायलले पुष्टि गरेन


१८ फाल्गुन २०८२, सोमबार  

0
Shares

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले सोमबार इजरायलका सरकारी तथा सैन्य संरचनामाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी समाचार संस्था इर्ना का अनुसार आक्रमणका लक्ष्यहरूमा तेल अभिभस्थित प्रधानमन्त्री बेन्जामिन नेतान्याहु को कार्यालय, हाइफाका सुरक्षा केन्द्रहरू तथा पूर्वी जेरुसेलमका केही स्थलहरू परेका छन्।
आईआरजीसीले जारी गरेको विज्ञप्तिमा “इजरायली शासनका अपराधी प्रधानमन्त्रीको कार्यालय र वायुसेना कमान्डरको मुख्यालयलाई निसाना बनाइएको” उल्लेख गरिएको छ। उक्त कारबाहीलाई ‘बदलाको १०औँ चरण’ अन्तर्गत सञ्चालन गरिएको दाबी गर्दै इजरायली वायुसेना कमान्ड संरचनामा गम्भीर क्षति पुगेको पनि जनाएको छ।
तेहरानले शनिबार संयुक्त अमेरिकी–इजरायली आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेको छ। त्यसको प्रतिकारस्वरूप हालसम्म १० चरणमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिएको इरानी पक्षको भनाइ छ। इरानी अधिकारीहरूले यस अभियानलाई ‘कानुनी आत्म–रक्षा’को रूपमा व्याख्या गरेका छन् र इजरायली भूभागसँगै क्षेत्रीय अमेरिकी आधार इलाकाहरूलाई समेत लक्षित गरिएको बताएका छन्।
यता इजरायली पक्षले भने प्रधानमन्त्रीको कार्यालयमा कुनै प्रत्यक्ष प्रहार भएको पुष्टि गरेको छैन। इजरायली सेनाले सोमबार विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरिएको जानकारी दिएको छ। “केही समयअघि आईडीएफले इरानबाट इजरायल राज्यतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको छ। खतरालाई रोक्न रक्षा प्रणालीहरू सक्रिय अवस्थामा रहेका छन्,” विज्ञप्तिमा भनिएको छ।
समाचार संस्था एएफपीका पत्रकारहरूका अनुसार सोमबार जेरुसेलम क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका थिए। आक्रमणपछि केही स्थानमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिइएको जनाइएको छ।
हालसम्म हताहतको आधिकारिक विवरण सार्वजनिक भएको छैन। इजरायली आपतकालीन सेवाहरूले सम्भावित क्षतिको मूल्यांकन गरिरहेको बताएका छन्।
क्षेत्रीय तनाव तीव्र बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : १९ बजे