काठमाडौँ । काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै एसियाली संघ गठनको पहल नेपालले लिनुपर्ने र त्यसको सम्भावित राजधानी नेपाल हुन सक्ने धारणा अघि सारेका छन्।
विभिन्न दलको निर्वाचन घोषणापत्र र आगामी सरकारको नीति कार्यसूचीका लागि समेत लक्षित गरी सार्वजनिक गरिएको सात बुँदे प्रस्तावमा स्वामी अरुणले नेपालको सभ्यतागत पहिचान, आर्थिक सम्भावना, सामाजिक न्याय, ऊर्जा कूटनीति, स्वास्थ्य प्रणाली, पर्यटन र क्षेत्रीय शान्तिसँग सम्बन्धित दूरगामी एजेन्डा प्रस्तुत गरेका छन्।
नेपाल अहिले निर्णायक संक्रमणकालबाट गुज्रिरहेको छ। युवापुस्ताको बढ्दो सक्रियता, परम्परागत राजनीतिक संरचनामाथि उठेका प्रश्न, नयाँ राजनीतिक शक्तिहरूको उदय र सहकार्यमा सरकार बन्ने सम्भावनाले देशलाई नयाँ दिशातर्फ डो¥याइरहेको छ । ‘यो समय केवल सत्ता परिवर्तनको होइन, राज्यको सोच, प्राथमिकता र दीर्घकालीन दृष्टिकोण पुनःपरिभाषित गर्ने ऐतिहासिक अवसर हो,’ स्वामी अरुणको प्रस्तावमा उल्लेख छ ।
योग, ध्यान र वैकल्पिक स्वास्थ्यका लागि पृथक मन्त्रालय
स्वामी अरुणले नेपाललाई योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य प्रणालीको ऐतिहासिक केन्द्रका रूपमा व्याख्या गर्दै यस क्षेत्रलाई समेट्ने पृथक मन्त्रालय गठन गर्न प्रस्ताव गरेका छन्। विश्वभर मानसिक तनाव, जीवनशैलीजन्य रोग र स्वास्थ्य खर्च बढिरहेको सन्दर्भमा यी ज्ञान प्रणालीहरू रोकथाममुखी, कम खर्चिला र समग्र स्वास्थ्यका लागि प्रभावकारी रहेको उनको तर्क छ।
उनले योग, ध्यान, आयुर्वेद, होमियोपैथी, यूनानी, प्राकृतिक चिकित्सा, तिब्बती उपचार प्रणाली, अकुपन्चर, अकुप्रेसर, झारफुक, मन्त्रतन्त्र तथा धामीझाँक्रीजस्ता परम्परागत उपचार विधालाई अनुसन्धान, अभ्यास, सार्वजनिक स्वास्थ्य सेवा र स्वास्थ्य–पर्यटनसँग एकीकृत गर्नुपर्ने बताएका छन्। भारतमा ‘आयुष मन्त्रालय’ रहेको उदाहरण दिँदै नेपालमा पनि यस्तै संरचना आवश्यक भएको उनले उल्लेख गरेका छन् ।
बाँदर आतंक बन्यो राष्ट्रिय संकट
प्रस्तावको दोस्रो बुँदामा बाँदर नियन्त्रण तथा मानव वन्यजन्तु सहअस्तित्व नीतिलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरिएको छ। स्वामी अरुणका अनुसार बाँदर आतंक अहिले केवल वन्यजन्तु समस्या नभई कृषि, आवास, जनसुरक्षा र ग्रामीण अर्थतन्त्रसँग जोडिएको गम्भीर संकट बनेको छ।
उपलब्ध तथ्याङ्क उद्धृत गर्दै उनले बाँदरका कारण नेपालमा करिब २५ प्रतिशत भूमि बाँझो भएको र मध्य पहाडी जिल्लाका करिब ६० प्रतिशत किसानले गम्भीर बाली नोक्सानी भोग्नुपरेको बताएका छन्। बाँदरद्वारा मानिसमाथि आक्रमण, रेबिजको जोखिम र पर्यटनमा परेको नकारात्मक असरप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।
हालको बाँदर बन्ध्याकरण नीति प्रभावकारी नभएको ठहर गर्दै श्रीलंका तथा भारतका केही प्रदेशमा अपनाइएका उपाय अध्ययन गरी वैज्ञानिक र दीर्घकालीन समाधान, आवश्यक परे नियन्त्रित निर्यात पुनःखोल्ने विकल्पसमेत विचार गर्न उनले प्रस्ताव गरेका छन् ।
दान र सामाजिक सुरक्षामा कर सुधारको माग
धार्मिक तथा आध्यात्मिक संस्थाहरूलाई राज्यको विकल्प नभई राज्यका सहयोगी सामाजिक सेवा संस्थाका रूपमा व्याख्या गर्दै स्वामी अरुणले दानराशिमा लाग्ने कर प्रणाली पुनरवलोकन गर्न माग गरेका छन्। सार्वजनिक हितका लागि संकलित दान बैंकमा राख्दा प्राप्त ब्याजमा १५ प्रतिशत कर लाग्नु दानको मूल भावना विपरीत भएको उनको भनाइ छ।
उनले दानराशिलाई आम्दानी नभई सामाजिक सेवा कोषको रूपमा कानुनी मान्यता दिनुपर्ने, धार्मिक तथा आध्यात्मिक संस्थाको ब्याजमा कर खारेज गर्नुपर्ने र ६५ वर्षमाथिका नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विधवारएकल महिलाको ब्याज आम्दानीमा कर नलगाउन प्रस्ताव गरेका छन्।
पर्यटन र स्थायी बसोबासमा नयाँ सोच
नेपाल प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विश्वमै आकर्षक रहेको उल्लेख गर्दै स्वामी अरुणले विदेशी लगानीकर्तालाई स्थायी बसोबास अनुमति ९एच्० दिने विषयमा स्पष्ट नीति बनाउन सुझाव दिएका छन्। विकास, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीसहित नेपालमा बसोबास गर्न चाहने विदेशीको संख्या बढ्दो भए पनि नीतिगत अस्पष्टताले अवसर खेर गएको उनको भनाइ छ। उचित मापदण्ड र सुरक्षासहित यस्तो नीति लागू गर्न सकिए पूँजी भित्र्याउने, रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उनको विश्वास छ।
नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बनाउने भिजन
ऊर्जा क्षेत्रलाई स्वामी अरुणले नेपालको भविष्यसँग जोडिएको प्रमुख शक्ति मानेका छन्। करिब ५० वर्षअघि नै ८४ हजार मेगावाट जलविद्युत् क्षमता रहेको तथ्य सार्वजनिक भइसकेको र आज प्रविधिको विकाससँगै सौर्य र वायु ऊर्जासमेत जोड्दा २ लाख मेगावाटभन्दा बढी सम्भावना रहेको उनको दाबी छ।
भारत, चीन र बंगलादेशजस्ता छिमेकी मुलुकको बढ्दो ऊर्जा मागलाई ध्यानमा राख्दै आन्तरिक खपत सुनिश्चित गरी निर्यात रणनीति अपनाउन सके नेपाल क्षेत्रीय ऊर्जा केन्द्र ९भ्लभचनथ ज्गद० बन्न सक्ने उल्लेख प्रस्तावमा छ। यसले राष्ट्रिय आम्दानी, व्यापार सन्तुलन र कूटनीतिक हैसियत बलियो बनाउने उनको तर्क छ।
अष्टावक्र महागीता राष्ट्रिय पुस्तक घोषणा गर्ने प्रस्ताव
सांस्कृतिक पहिचानको सन्दर्भमा स्वामी अरुणले अष्टावक्र महागीता ९अष्टावक्र संहिता० लाई नेपालको राष्ट्रिय पुस्तक घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्। मिथिला क्षेत्रमा ऋषि अष्टावक्र र राजा जनकबीच भएको बोध–संवादमा आधारित यो ग्रन्थ नेपाली भूमिमा जन्मिएको मौलिक दार्शनिक सम्पदा भएको उनको भनाइ छ।
अन्य देशले आफ्नो सभ्यतागत ग्रन्थलाई राष्ट्रिय प्रतीक बनाएको उदाहरण दिँदै अष्टावक्र महागीतालाई शपथ ग्रहणमा प्रयोग गर्न, विदेशी पाहुनालाई उपहारका रूपमा दिन र सांस्कृतिक कूटनीतिक माध्यम बनाउन पनि उनले सुझाव दिएका छन् ।
एसियाली संघ गठनमा नेपालको पहल
प्रस्तावको अन्तिम बुँदामा स्वामी अरुणले सबैभन्दा महत्वाकांक्षी अवधारणा प्रस्तुत गरेका छन्—एसियाली संघ ९एयु० निर्माणको । युरोपेली संघ ९इयु० बनेपछि युरोपमा शान्ति र आर्थिक एकीकरण बढेको उदाहरण दिँदै एसियामा पनि साझा सभ्यता र सांस्कृतिक आधारमा यस्तो संघ आवश्यक भएको उनको तर्क छ।
एसियाका धेरै देश गरिब भए पनि ठूलो हिस्सा सैन्य तयारीमा खर्च भइरहेको, आणविक जोखिम बढी रहेको उल्लेख गर्दै उनले हिन्दु–बौद्ध सांस्कृतिक बहुलता भएको देशबाट पहल सुरु गर्न सकिने बताएका छन्। सबै एसियाली देशसँग राम्रो सम्बन्ध रहेको नेपालले यो प्रस्ताव अघि सारेमा संघको राजधानी नेपालमै रहने सम्भावना रहेको पनि उनले दावी गरेका छन् ।
स्वामी आनन्द अरुणले यी सबै प्रस्ताव कुनै दल, विचारधारा वा वर्गविरुद्ध नभई नेपालको दीर्घकालीन सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय हितका लागि भएको स्पष्ट पारेका छन्। उनले सबै राजनीतिक दललाई यी सुझाव उपयुक्त लागेमा निर्वाचन घोषणापत्रमा समावेश गर्न, सार्वजनिक प्रतिबद्धता जनाउन र सरकार गठनपछि कार्यान्वयन प्रक्रिया अघि बढाउन समेत आह्वान गरेका छन्।










प्रतिक्रिया