काठमाडौं । नाइजेरियामा बढ्दो आतंकवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको छ। अमेरिकी–अफ्रिका कमान्डका प्रमुख जनरल ड्याग्विन आर. एम. एन्डरसनले अमेरिकी समाचार संस्था एपीमार्फत उक्त जानकारी दिएका हुन्।
जनरल एन्डरसनका अनुसार गत वर्ष रोममा नाइजेरियाका राष्ट्रपति बोला टिनुबुसँग भएको भेटवार्तापछि द्विपक्षीय सुरक्षा सहयोग विस्तार गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार अमेरिकी सैन्य टोली नाइजेरियाली सेनालाई सहयोग गर्न त्यहाँ पुगेको हो।
उनले अमेरिकी टोलीले निश्चित क्षमतासहित प्रशिक्षण, गुप्तचर सहयोग र सुरक्षा सुदृढीकरणमा काम गर्ने बताएका छन्। टोली कहिले नाइजेरिया पुगेको हो भन्नेबारे भने आधिकारिक मिति सार्वजनिक गरिएको छैन।
गत डिसेम्बर २५ मा अमेरिकाले इस्लामिक स्टेटसँग आबद्ध एक समूहविरुद्ध हवाई हमला गरेपछि दुई देशबीच सैन्य सहकार्य थप बलियो बनेको जनाइएको छ। अमेरिका यसअघि पनि नाइजेरियालाई सैन्य उपकरण, गुप्तचर सूचना र निगरानी मिसनमार्फत सहयोग गर्दै आएको थियो।
यसैबीच, नाइजेरिया अमेरिकाको राजनीतिक तथा कूटनीतिक दबाबमा समेत परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाले इसाई नागरिकको सुरक्षा गर्न नसकेको आरोप लगाएका थिए। त्यसपछि अमेरिकाले नाइजेरियालाई धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने ‘विशेष चासोको देश’ सूचीमा राखेको छ।
नाइजेरियाली सरकारले भने ‘इसाई नरसंहार’को आरोप अस्वीकार गर्दै आतंकवादी समूहहरूले धर्म नहेरी सर्वसाधारणलाई लक्षित गर्ने गरेको दाबी गरेको छ।
नाइजेरिया लामो समयदेखि बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सजस्ता सशस्त्र समूहसँग संघर्षरत छ। गत महिना उत्तर–पश्चिमी कडुना राज्यमा तीनवटा चर्चमा एकसाथ भएको आक्रमणमा १६८ जनाको अपहरण भएको थियो।
लगातार सुरक्षा चुनौती बढिरहेका बेला अमेरिकी सैन्य उपस्थितिलाई नाइजेरियाको सुरक्षा सुदृढीकरणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
२१ माघ २०८२, बुधबार
23
Shares









प्रतिक्रिया