Logo

विश्व

अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द



काठमाडौं। संयुक्त राज्य अमेरिकामा एकसातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् ।
शनिबारदेखि सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ ।

हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् । फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकी एयरलाइन्सका निर्धारित उडानमध्ये ४३ प्रतिशत र अटलान्टास्थित डेल्टा एयरलाइन्सका ३५ प्रतिशत उडान ग्राउन्ड गरिएका छन् ।

शनिबार मात्रै डलास र चार्लोट केन्द्रित गरी ४ हजारभन्दा बढी उडान रद्द भएका थिए भने सोमबारसम्म न्यूयोर्क र बोस्टन क्षेत्रमा प्रभाव केन्द्रित हुँदै १ हजार ६ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी, जर्जिया, नर्थ क्यारोलाइना, मेरील्यान्ड, अर्कान्सास, केन्टकी, लुइजियाना, मिसिसिपी, इन्डियाना र वेस्ट भर्जिनियासहित १० राज्यमा आपतकाल घोषणा गरेका छन् । उनले संघीय आपतकालीन व्यवस्थापन निकाय राज्यका गभर्नरहरू र आपतकालीन व्यवस्थापन टोलीहरूसँग समन्वय गरी नागरिकको सुरक्षामा काम भइरहेको बताएका छन् ।

राष्ट्रिय मौसम सेवाका अनुसार हिमपात अमेरिकाको पूर्वी दुई–तिहाइ भूभाग ढाक्नेछ खालको छ । उत्तरी तथा केन्द्रीय मैदान क्षेत्रबाट उत्तरपूर्वसम्म शून्यभन्दा तलको तापक्रम फैलिने र खाडी तटसम्म हरेक रात हिमांकभन्दा तलको तापक्रम रहने पूर्वानुमान गरिएको छ । एनडब्लुएसले आगामी सातासम्म अत्यधिक चिसो मौसम कायम रहने चेतावनी दिँदै, हावासँगैको चिसोले हाइपोथर्मिया र फ्रस्टबाइटको जोखिम बढ्ने भएकाले ‘ज्यान जोखिममा पार्ने चिसो’बाट जोगिन तयारी गर्न आग्रह गरेको छ । साथै, मध्य–एटलान्टिक राज्य हुँदै उत्तरपूर्वी क्षेत्रमा आँधी फैलिने जनाएको छ ।

भारी हिमपात र जम्ने वर्षाले अमेरिकाको पूर्वी भागका धेरै क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ । आँधी नजिकिँदै गर्दा गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
सिएनएनका अनुसार करिब १,३०० माइलसम्म फैलिएको यो विशाल शीतकालीन आँधीले टेक्सासदेखि न्यू इङ्ल्यान्डसम्म २,००० माइलभन्दा बढी क्षेत्रमा असर पार्नेछ । दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ ।

आँधीका कारण आधाभन्दा बढी अमेरिकी नागरिकले शून्यभन्दा तलको हावाको चिसो अनुभव गर्नेछ् । जसले हिम र बरफ लामो समयसम्म जमिरहने र विद्युत् नपुगेका क्षेत्रका बासिन्दा धेरै दिनसम्म कठ्यांग्रिने अवस्था आउने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले १७ भन्दा बढी राज्यमा शीतकालीन आँधीसम्बन्धी चेतावनी जारी गरिसकेको जनाएको छ । एएनआई

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १ : ०९ बजे