पूराना भनिएका पार्टीहरुले आफूलाई समयसापेक्ष अपडेट गर्नुपर्छ । वैचारिक, सांगठनिक परिवर्तन र कार्यशैली परिवर्तन साथै रुपान्तरण हुन जरुरी छ । यसमा ध्यान दिन सकिएन भने नयाँ पार्टीहरु विस्तारै हाबी हुँदै जानेछन् ।
लक्ष्मण लम्साल
प्रदेश सांसद तथा नेता
नेपाली कम्युनिष्ट पाटी
लक्ष्मण लम्साल काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्म्बर २ को प्रदेशसभा (क) मा तत्कालिन नेकपा (एकीकृत समाजवादी) विजयी सांसद हुन् । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेर अनुभव लिएका उनी हाल नेपाली कम्युनिष्ट पार्टीको प्रभावशाली नेताका रुपमा परिचित छ । पार्टी रुपान्तरण र पुस्तान्तरणका आवाज उठाइरहेका लम्सालसँग नेपाल न्यूज बैंकले छोटो कुराकानी गरेको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ?
पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा खासगरी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनको हिसाबले देश अगाडि बढिरहेको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्ष बीचको विवादका माझ फागुन २१ गते निर्वाचनमा मुलुक अगाडि बढ्नुपर्छ । मुलुक निर्वाचनमा गएन भने जेनजी मुभमेन्टपछि बनेको सरकार र त्यसको म्यान्डेट भनेको प्रतिनिधि सभाको निर्वाचन नै हो । प्रतिनिधि सभाको निर्वाचन गर्न सक्यौं भने मुलुक एउटा संवैधानिक कोर्समा अगाडि बढ्छ र नयाँ वातावरणमा जान सक्छौ । यदि संवैधानिक बाटोमा डिरेल हुने बित्तिकै मुलुक हालको व्यवस्था र अवस्थामा डिरेल हुनसक्छ । जसका कारणले नेपाली नागरिक वा नेपाली राजनीतिले धेरै दुःख व्यहोर्नुपर्ने स्थिति निर्माण हुनसक्छ । त्यसकारण पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा सकारात्मक हिसाबले निर्वाचनको बाटोमा जाँदा नै मुलुक ठिक ठाउँमा पुग्ने देखेको छु । अहिले केही दिनको घटना र परिघटनालाई हेर्ने हो भने निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय पैदा हुँदा पनि आयोग अन्तिम तयारीमा छ । कम्तिमा समानुपातिक सूची पेस भयो, राष्ट्रिय सभाको निर्वाचनको तयारी सम्पन्न भएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको नोमिनेशन माघ ६ गते छ । यस हिसाबले हेर्दा सकारात्मक बाटोमा गएको छ । तर कांग्रेसका कारणले केही समस्या हुन्छ कि भन्ने छ तर त्यसको विकल्प निर्वाचन नै हो । एउटा दलको समस्यालाई निर्वाचन आयोगले समाधान गर्दै आएको हुनाले अरु विभिन्न बहाना देखाएर निर्वाचन रोकिनु हुँदैन भन्ने कुरा नै महत्वपूर्ण हो ।
कांग्रेस देशकै सबैभन्दा ठूलो दल पनि हो, देशकै सबैभन्दा ठूलो दल विभाजनतर्फ गइरहेको भनेर धेरैले चिन्ता पनि व्यक्त गर्नुभएको छ । हजुरले यसलाई कसरी हेरिरहनु भएको छ ?
म एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ता हिसाबले, लोकतन्त्र र गणतन्त्रमा विश्वास गर्ने एउटा कार्यकर्ताको हिसाबले कुनैपनि दलहरु फुट्नु आफैंमा राम्रो कुरा होइन । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । अरू पार्टीको बारेमा मैंले टिप्पणी वा आलोचना गर्नु त्यति ठिक त होइन तर कांग्रेस भित्र जे खालको विद्रोह भइराखेको छ जे त्यो हाम्रो पार्टीमा हामीले उठाउन सकेनौ। कुरा गर्यौं, बहस गर्यौं, छलफल गर्यौं तर त्यो तहसम्म पुर्याउन सकेनौं ।
विभाजन हुनु आफैंमा बेठिक हो । तर पार्टीहरुमा एउटा ब्युरोक्रेटिकले कब्जा गर्नु दलहरु लोकतन्त्रमा प्रजातन्त्रमा विश्वास गर्ने पार्टीहरु दलहरु तिनका नेताहरु जब ब्युरोक्रेटिक संरचनालाई कब्जा गर्ने मनोविज्ञानबाट अगाडि बढ्छन् त्यो बिद्रोह हुन्छ । कांग्रेसमा भएको बिद्रोहको हिसाबले जुन ढंगले आफुलाई नयाँ युगमा बदल्न खोज्यो त्यो सकारात्मक पक्ष हो । त्यसलाई एउटा कानुनी र राजनीतिक हिसाबले सेटलमेन्ट हुनुपर्छ । तर लोकतन्त्रमा दलहरु फुट्नु आफैमा नराम्रो कुरा हो । चाहे त्यो नेपाली कम्युनिस्ट पार्टी होस् चाहे त्यो नेकपा एमाले होस् चाहे नेपाली कांग्रेस होस् वा अरु नयाँ कुनै पार्टीहरु हुन् फुट्नु आफैमा राम्रो कुरा होइन् । तर नेपाली कांग्रेसले जे एजेन्डा वा मुद्दा उठाइरहेको छ । एक हिसाबले त्यो ठिक हो भन्ने ठाउँमा छु । त्यसलाई राजनीतिक, कानुनी हिसाबले र पार्टीको एकता कायम गर्ने हिसाबले अघि बढ्नुपर्छ ।
वर्तमान सरकारको कार्यशैलीलाई कसरी हेरिरहुनभएको छ ? चुनावी वातावरण बनेको छ या छैन् ?
सरकार कुन हिसाबले, कुन पृष्ठभूमिबाट कसरी बन्यो त्यसबारे आ–आफ्ना टिप्पणीहरु व मूल्यांकनहरु होलान् । त्यसका बारेमा चर्चा नगरौं । तर निर्वाचन गराउने सर्तमा सरकारले अहिलेसम्म ठिकै गरेको मैले देख्छु । तर कसैको मुद्दा फिर्ता लिने र कसैलाई मुद्दा दर्ता गर्ने साथै एउटा अमुख मान्छे वा दलका मान्छेहरुलाई मुद्दा लगाउने र फिर्ता लिने काममा सरकार लाग्नु भनेको राम्रो होइन । कता–कता यो सरकार पनि अहिलेसम्म गरिरहेको ठीकै कामबाट पछाडि हट्न खोजेको हो की भन्ने म देख्छु । यद्यपि, त्यसैलाई अन्तिम मुद्दा बनाइनु हुँदैन् । निर्वाचनमा जानुपर्छ भन्नेमा दुइमत छैन । निर्वाचनको अरु तयारी गरेको ठिक छ । चुनावकै बाटोमा जानुपर्छ तर सरकार कतै न कतै निर्वाचनको विपक्षमा छ भन्ने उसका निर्णयहरुले देखाउने गरेको छ । जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको मुद्दाको विषय निर्वाचनको मुखमा स्वाभाविक हो जस्तो लाग्दैन ।
तपाईहरुले यहीबीचमा बाम एकता पनि गर्नुभएको छ । जनताले पूराना राजनीतिक दलहरुलाई पत्याउलान ?
जेनजी आन्दोलन पछाडि दलहरुमा जे प्रश्नहरु उठेको थियो त्यसबारे हाम्रो पार्टीमा लामो समयदेखि उठाउँदै आएका थियौं । अहिले पनि त्यो प्रश्नबाट पछाडि हटेका छैनौं । हाम्रो पार्टी भित्रकै कुरा गर्नुहुन्छ भने जेनजी आन्दोलन हुनुभन्दा अगाडी नै पुरानो नेतृत्वलाई बिदा गर्नुपर्छ र पार्टीहरु पुनःगठित एवम पुनर्संरचना गरेर अगाडि जानुपर्छ । त्यसरी नै बाम एकता गरेर जानुपर्छ भन्ने भनाई थियो । तर हाल बहुमतले दुइवटा पार्टी मिल्ने वा निर्णय गरेर चुनावमा जाँदैमा सबै समाधान हुन्छ जस्तो लाग्दैन् । कार्यकर्ताको उत्साह र जनताले विश्वास गर्ने हिसाबले राजनीतिक मुद्दा र एजेन्डा मिलाउँछौं भनेका छौं । तर कार्यकर्ता मिलाउने कुरा र नागरिकमा आश जगाउने कुरा नभएसम्म एकता पनि पुष्टि हुँदैन । एकताको सन्देश लिएर हामी निर्वाचनमा जाने हो । हामी मिलेर आएका छौं, हामीलाई भोट दिनुहोस, ठिकठाक गर्छौ भन्न सक्नुपर्छ । नेपाली कम्युनिस्ट पार्टी र तिनका नेताहरुले जेनजी मुभमेन्ट अगाडि उठाउदै आएको मुद्दा र पछाडिका सोसाइटीमा उठेका तमाम प्रश्नहरु सुशासन, डेलिभरीका प्रश्नहरु, नागरिक, नागरिकहरुले राखेको परिवर्तनको चाहनालाई हामी सम्बोधन गर्नसक्नेगरी हामी अगाडि बढ्नुपर्छ । नागरिकले पत्याउछन् कि पत्याउँदैनन् भन्ने कुरा मैदानमा गइसकेपछि थाहा हुन्छ । मुख्य कुरा त निर्वाचनमा जाने र आएको परिणामलाई स्वीकार गर्ने प्रमुख विषय हो । जनताले हामीलाई भोट दिन्छन् भनेर पूर्णरुपमा विश्वस्त हुनसक्ने अवस्था छैन । किनभने जेनजी मुभमेन्ट अगाडि नै सबै कुराको करेक्सन हुनुपर्छ भन्ने लागेको थियो । अहिले बनेको संरचना र एकताले मात्र सबैथोक हुँदैन । जनतामाझ स्वेतपत्र जारी गर्नुपर्छ । हामीले यी कमजोरी गर्यौं, यस्ता कुरामा सुधार गर्छौ भन्ने विषय समेटेर घोषणापत्र बनाउन, एजेन्डा बनाउन र लिडरसिपलाई पनि बदल्दै विश्वास दिलाउन सकियो भने एकताको अर्थ हुन्छ । होइन, हिजोकै नेतृत्वले माफी पनि नमाग्ने, कमजोरी नस्वीकार्ने गरियो भने जनताले पत्याउँछन् भन्नेमा ठान्दिन । नेतृत्व नबदलिकन जनताको बीचमा जान सक्दैनौं भन्ने मत अहिले पनि पार्टी भित्र राखिरहेको छु । बदलिएर आउँछौं भन्ने कुरा देखिनेगरी हुनुपर्छ । किनभने महाधिवेशन गरेर लिडरशिप नयाँ बनाएकै छैनौं । चुनाव पछाडि महाधिवेशन गर्ने मुडमा छौं । अर्को कुरा हामीले स्वेतपत्र जारी गरेर बितेका ३० वर्षमा राम्रा या नराम्रा काम र भूमिकाका बारेमा स्वेतपत्र जारी गरेका छैनौं । अब घोषणापत्र लेख्दैछौं भने विगतमा लेखेका घोषणापत्र कति पूरा गर्यौं, अबको घोषणापत्रले कहाँ पुर्याउँछौं भन्ने कुरा ठिक ढंगले निर्णय अझै पनि गर्न सकेनौं भने निर्वाचनमा जान त्यति सजिलो छ जस्तो लाग्दैन । हिजो विभाजित थियौं तर आज फरक फरक ठाउँबाट मिलेर आएका छौं । कमजोरी गर्दैनौं, मत दिनुहोस, हामी बदलिन्छौं भन्ने आधारहरु स्पष्ट हुनुपर्छ । किनकी दुनियाँले पत्यायो, देशले पत्यायो भने चुनाव जित्ने हो नत्र मुस्किल छ ।
पार्टीभित्रै विमति रहेछ, अनि नेपाली कम्युनिष्ट पार्टीलाई जनताले के आधारमा विश्वास गर्ने त ?
हो, पार्टी भित्रै विमति छ । टिकट पाउने नपाउने वा चुनाव हुने नहुने विमति होइन । कांग्रेसले विशेष महाधिवेशन गर्यो र फुट्ने चरणमा गयो होला । तर उसले आफुलाई बदल्यो, बदल्ने कोशिस गर्यो । एमालेले महाधिवेशन गर्यो, ठिक गर्यो कि गरेन त्यो समिक्षाको विषय होला । तर नेपाली कम्युनिस्ट पार्टीले १९ वटा पार्टी मिलायो । चुनाव सकेपछि महाधिवेशन गर्ने भनियो । यहाँ मेरो मत के हो भने मिलेर आयौ भन्ने मात्र कुराले चुनाव जित्दैनौं । मिलेर आयौ भन्ने कुराले मात्र विश्वास कायम राख्दैन् । त्यसैले मत विभाजित छ ।
त्यसोभए, महाधिवेशन चुनाव भन्दा अगाडि नै हुनुपर्छ भन्ने हो ?
चुनाव अगाडि नै नेतृत्व परिवर्तनका सन्दर्भमा महाधिवेशन गरेर वा अर्को उपाय खोजेर पुनर्गठित र पुनर्संरचित बनाएर लानुपर्छ । लिडरशिपले पनि त्यो बाटो समाउला र सच्चिने ठाउँमा पुग्ला भन्ने लागेको छ ।
जेनजी आन्दोलनपछि धेरै नयाँ दलहरु दर्ता भएका छन्, एकतावद्ध हुँदै गएका छन् । पूराना दलहरुका लागि नयाँ चुनौति हुन कि होइनन् ?
पुराना राजनीतिक दलहरुले गम्भीर समीक्षा गरेर आफ्नो–आफ्नो ठाउँबाट आफूलाई पुनर्गठित वा पुनर्संरचित नगर्ने हो भने बितेका ३० वर्षमा हामीले गरेका कर्महरुका बारेमा गम्भीरतापूर्वक समीक्षा नगर्ने हो भने पुराना राजनीतिक दल भनेर मात्र मान्छेहरु बस्दैनन् । पुराना राजनीतिक दलहरुको समाप्त हुनुपर्छ, केही पनि काम लाग्दैनन् भन्ने भाष्य पनि ठीक होइन । नयाँ पार्टी दर्ता गर्दैमा वा बनाउँदैमा भरभराएर आउँछ भन्नेमा मान्यता राख्दिन । दलीय व्यवस्था लोकतन्त्रमा जरुरी पनि छ ।
पूराना भनिएका पार्टीहरुले आफुलाई समयसापेक्ष अपडेट गर्नुपर्छ । वैचारिक, सांगठनिक परिवर्तन र कार्यशैली परिवर्तन साथै रुपान्तरण हुनु जरुरी छ । यसमा ध्यान दिन सकिएन भने नयाँ पार्टीहरु विस्तार हुन सक्छन् । त्यो रोकेर रोक्न सकिदैन । छेकेर छेक्न सकिदैन । जनता वा कार्यकर्ता सँधै मेरा हुन्छन् भन्ने भ्रम गलत छ । तर सोसाइटीमा के बनाउन खोजिदै छ भने राजनीतिक दल अपडेट छैनन्, पुराना दल भनेका सबै उस्तै हुन् भन्ने भाष्य समाजमा निर्माण गर्न खोजिदैछ । यो नेपाली राजनीतिको ठूलो चुनौतिको विषय हो। नयाँहरु पनि जिम्मेवार, भरपर्दो एवम वैचारिक, राजनीतिक, सांगठनिक र संकल्प दृष्टिकोण बोकेर आइरहेका छन् भन्ने कुरा पनि ग्यारेन्टी छैन । त्यसैले पुराना राजनीतिक दलहरु पनि बदलिनुपर्छ । कमी कमजोरीको समीक्षा गर्नु पर्छ र नयाँ युग सुहाउँदो अपडेट गर्दै जानुपर्छ ।
अहिले फरक क्षेत्रमा सक्रिय व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने लहर छ । यसलाई कसरी लिनुहुन्छ ?
अन्य क्षेत्रका मान्छे राजनीतिमा आउन पाइदैन भनेर भन्न मिल्दैन् । आउन पाइन्छ । कलाकारिता, सामाजिक साथै अन्य व्यवसायिक क्षेत्रबाट राजनीतिमा आउन पाइन्छ । तर राजनीति भन्ने त्यति सजिलो छैन् । दुई खालका मान्छेहरु सक्रिय भएको देखिन्छ । कोही नाम कमाउन, कोही नामका लागि नाम थप्न आएका छन् । सोसाइटीलाई योगदान गर्न आएका छन । त्यो त समयक्रमले पुष्टि गर्दै जाला । राजनीतिप्रति आकर्षण हुनु राम्रो कुरा हो, त्यसलाई नेगेटिभ भन्दिन । तर उसको भूमिका र योगदान प्रमुख विषय हो ।
गीत बजेको बेलामा बाजा बजेको बेलामा जसलाई नि नाच्न मन लाग्छ । तर नाच्न जान्नपर्छ, मन लागेर हँुदैन । कलाकारहरुले राजनीतिमा रुचि राखेका छन् । समाजले अलिकति चिनेका मान्छे राजनीतिमा आउन खोजेका छन् । यसको अर्थ राजनीतिमा आउनु हुँदैन भन्न मिल्दैन् । तर राजनीतिमा आएर सफा गर्न र बदल्न सक्नुपर्छ ।
निर्वाचनको मनोनयन दर्ताको मिति आइसकेको छ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार चयनमा समावेशिता र युवा वर्गलाई कत्तिको ध्यान दिएको छ ?
अरु धेरै राजनीतिक दलहरु भन्दा हामीले समानुपातिक प्रणालीमा समावेशिता बनाएको देखिन्छ । तर समावेशिता भनेको पार्टीको उपल्लो नेतृत्वलाई राख्नेलाई समावेशी भनिदैन, त्यसमा सबै समावेशी हुनुपर्यो । कतिपय ठाउँमा पहिचानको हिसाबले भन्दा पहुँचका आधारमा ल्याइएको छ । पहुँच नभएका मान्छेलाई ल्याइएको छैन । त्यसो भएको हुनाले नेपाली कम्युनिस्ट पार्टीले अहिले अरु पार्टीको तुलनामा रुपमा समानुपातिक सूची प्रणाली ठिकै पेश गरेको छ । यसले सय प्रतिशत राम्रो गरेको छ भनेर म भन्दिन । किनभने यसले आफ्नै सिनियर नेताहरु वा पहुँच भएकै मान्छेलाई ल्याउने परिपाटी ठिक छैन् । समानुपातिक प्रणाली भनेको पछि परेको समुदायलाई माथि ल्याउने हो नि पहुँच नभएका मान्छेलाई पहुँचमा पुर्याउने हो । पहिचान नभएका मान्छेलाई पहिचान दिने हो । तर हामीले समावेशीताको मर्म माथि प्रहार गरिरहेका छौं ।
हजुरको तयारी चाहीं के छ ?
प्रदेश सभामा निर्वाचित भएर आएको तीन वर्ष मात्र हुँदैछ । केही साथीहरुले चुनाव लड्नुपर्छ त भनिरहनु भएको छ । तर पाँच वर्षको जिम्मेवारी लिएर आएपछि बीचैमा छाडेर जाँदा नागरिकले प्रश्न उठाउँछन् । अनि अवसर पाउने बित्तिकै कुदिहाल्ने खालको क्यारेक्टर पनि प्रस्तुत गर्नु राम्रो हुँदैन । त्यसैले प्रतिनिधि सभामा चुनाव लड्ने योजना बनाएको छैन।











प्रतिक्रिया