Logo

राजनीति

कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पु¥याएँ भनेर भनेका भरमा हुन्छ ।’

उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको बताए । उनले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।

उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ । अनिर्वाचित र त्यत्तिकै आएर सरकार चल्दैन । जनताले चुनेको हुनुपर्छ । जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्छ । निर्वाचित सरकार अपदस्थ गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरु जलाउने कार्यहरु गरे । नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालकको स्वाधिनतामाथी, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ । आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ । ’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ४७ बजे