Logo

विश्व

दूषित पानीका कारण इन्दौरमा सातको मृत्यु, ११ सयभन्दा बढी बिरामी



इन्दौर। भारतको मध्य प्रदेश राज्यको इन्दौर सहरमा दूषित खानेपानी सेवनका कारण कम्तीमा सातजनाको मृत्यु भएको छ भने ११ सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । बिरामीमध्ये ११५ जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।

इन्दौरका मेयर पुष्यमित्र भार्गवका अनुसार स्वास्थ्य विभागले तीनजनाको मृत्यु आधिकारिक रूपमा पुष्टि गरेको छ । तर, भागीरथपुर क्षेत्रमा दूषित पानीका कारण बिरामी परेपछि कुल सातजनाको मृत्यु भएको स्थानीय स्तरमा जानकारी आएको उनले बताएका छन् ।

इन्दौर नगर निगम (आईएमसी) का कमिस्नर दिलीपकुमार यादवले भागीरथपुर क्षेत्रमा मुख्य पानी आपूर्ति पाइपलाइनमा चुहावट भएको पुष्टि गरेका छन् । चुहावटका कारण शौचालयको ढल पिउने पानीमा मिसिँदा झाडाबान्ता र पखालाको महामारी फैलिएको उनको भनाइ छ ।

घटनापछि राज्य सरकारले अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन गरेको छ । लापरवाही गरेको आरोपमा एक जोनल अफिसर र एक असिस्टेन्ट इन्जिनियरलाई निलम्बन गरिएको छ भने एक सब–इन्जिनियरलाई सेवाबाट बर्खास्त गरिएको छ ।

राज्य सरकारले मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। यस घटनालाई लिएर विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले सत्तारूढ भारतीय जनता पार्टीको कडा आलोचना गरेको छ । कांग्रेसका प्रदेश अध्यक्ष जीतु पटवारीले घटनालाई “आपराधिक लापरवाहीको परिणाम” भएको बताएका छन् ।

उल्लेखनीय छ, इन्दौर सहरले यसअघि आठ पटक भारतको सबैभन्दा स्वच्छ सहरको उपाधि प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १ : ३९ बजे