Logo

Breaking News 1

कारागारका पर्खालभित्र जन्मिएको इन्दिरा राना मगरको आमाको सपना



इन्दिरा राना मगर
उपसभामुख\समाजसेवी
आकांक्षा धामी \नेपाल न्यूज बैंक

काठमाडौं । कारागारको अग्लो पर्खालभित्र थुनिएका कैदीसँगै हुर्किन बाध्य निर्दोष बालबालिकाको पीडा धेरैलाई देखिँदैन । तर, यही पीडाले एक महिलाको जीवनको दिशा नै बदलिदियो, ती महिला हुन् इन्दिरा राना मगर । वि.सं. २०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा जन्मिएकी इन्दिरा सानैदेखि जुझारु र आत्मनिर्भर थिइन् । प्रतापसिंह मगरकी छोरी इन्दिराले गरिबी, विभेद र संघर्षबीच हुर्कँदै जीवनलाई नजिकबाट बुझिन् । पाँच कक्षासम्म औपचारिक पढाइ नपाएकी उनी पछि उत्कृष्ट अंकसहित अगाडि बढिन् । यही संघर्षशील बाल्यकालले उनलाई अरूका दुःख चिन्न सक्ने बनायो ।

जेलभित्र देखिएको बाल्यकाल, जीवनको टर्निङ पोइन्ट
१८ वर्षको उमेरमा उच्च शिक्षाका लागि काठमाडौं आएकी इन्दिराको जीवन साहित्यकार पारिजातसँगको भेटपछि मोडियो । पारिजातसँगै कारागार भ्रमण गर्दा उनले जेलभित्र आमाबाबुसँगै थुनिन बाध्य साना–साना बालबालिका देखिन् । त्यो दृश्यले उनलाई भित्रैदेखि हल्लायो । ‘अपराध आमाबाबुले गरेका थिए, तर सजाय बालबालिकाले भोगिरहेका थिए,’त्यही क्षण उनले आफ्नो जीवन यी बालबालिकाका लागि समर्पित गर्ने निर्णय गरिन् । र स्थापना गरिन्–वन्दी सहायता गृह ।

‘बन्दी सहायता नेपाल’ र कर्मआमाको यात्रा
इन्दिराले सुरुमा स्वयंसेवकका रूपमा जेलभित्र शिक्षादान, मानसिक रोगीको हेरचाह, महिला बन्दीका अधिकारका लागि आवाज उठाउन थालिन् । यही क्रमबाट जन्मियो ‘बन्दी सहायता नेपाल’ । आज यो संस्थाले देशभर १५ वटा सेन्टर सञ्चालन गरिरहेको छ । इन्दिराले अहिलेसम्म २ हजारभन्दा बढी बालबालिकालाई शिक्षा, पालनपोषण र सुरक्षित वातावरण प्रदान गरिसकेकी छिन् ।
उनको आफ्नै कोखबाट जन्मिएको एक मात्र सन्तान भए पनि, हजारौँ बालबालिकाले उनलाई ‘आमा’ भनेर चिन्छन् । इन्दिराको काम विश्वमै फरक मानिन्छ । उनले बालबालिकालाई आमाबाबुसँग पूर्ण रूपमा अलग नगरी, नियमित भेटघाट गराउने मोडेल विकास गरिन् । यसले बालबालिकासँगै बन्दी आमाबाबुको पनि मानसिक पुनस्र्थापना ग¥यो । ‘बच्चाले सुरक्षित र शिक्षित जीवन पाइरहेको थाहा पाउँदा बन्दीहरू परिवर्तन हुन थाल्छन्,’इन्दिरा भन्छिन् ।

कसरी बनिन् हजारौंकी आमा ?
कारागारसम्म उनी कसरी पुगिन् ? कसरी बन्दी आमाका बालबच्चामाथि उनको स्नेह पोखियो ? यसको पछाडि एउटा सूत्रधार बनेर जोडिएकी छिन्, साहित्यकार पारिजात । पारिजात त्यसबखत मानवअधिकारका पक्षमा पैरवी गरिरहेकी हुन्थिन् । खासगरी उनको सक्रियता कारागारमा बन्दी जीवन विताइरहेकाहरूको अधिकार र हकहितका लागि थियो । यसलाई उनले संस्थागत स्वरुप दिएकी थिइन, ‘पाम’ नाममा । संयोगले पारिजातसँग हेलमेल भइरहँदा इन्दिरा पनि त्यही संस्थामा प्रवेश गर्न पुगिन् । अन्ततः पारिजातसँगै कारगार आउजाउ सुरु भयो । यसक्रममा उनको खास भूमिका थियो, बन्दीगृहमा पठनपाठन गराउने ।
‘कारागारभित्र आमासँगै पुगेका बालबच्चा हुन्थे’ इन्दिरा भन्छिन्, ‘उनीहरूलाई देख्दा मलाई असाध्यै टिठ र दया लाग्थ्यो ।’
कारागारबाट फर्केपछि उनको चैन हराउँथ्यो । तिनै अवोध र निर्दोष बालबच्चाको अनुहार झल्झली आइरहन्थ्यो । यस्तै औडाह र छट्पटीले उनको मनमा एउटा जुक्ति फु¥यो, कारागारका बच्चाहरूलाई आफूसँगै राखेर हुर्काउने ।

‘जूनकिरी’ दर्शन : हरेक बच्चामा उज्यालो
इन्दिराले शिक्षा क्षेत्रमा ‘जूनकिरी दर्शन’ विकास गरिन् । अँध्यारोमा जूनकिरी झैँ हरेक बच्चामा आफ्नै उज्यालो हुन्छ । कसैमा संगीत, कसैमा खेल, कसैमा सिर्जनशीलता । त्यही क्षमता पहिचान गरेर हुर्काउनु नै उनको शिक्षा दर्शन हो ।

अन्तर्राष्ट्रिय सम्मान र पहिचान
उनको कामले विश्वको ध्यान खिचेको छ । बीबीसी, अल जजिरा, एनएचके जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको कथा संसारभर पु¥याएका छन् ।

समाजसेवाबाट संसदसम्म
कोभिड महामारीका बेला राज्यको कमजोर भूमिकाले उनलाई राजनीतिमा आउन प्रेरित ग¥यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी इन्दिरा अहिले नेपालको उपसभामुख हुन् । उपसभामुख पदको निर्वाचनमा २६८ सांसद उपस्थित हुँदा उनले १६६ मत प्राप्त गरिन् ।

आरोप, आलोचना र अडान
समाजसेवामा जति प्रशंसा छ, उति नै आरोप पनि । विदेशी सहयोग दुरुपयोगको आरोप उनीमाथि लाग्यो, तर इन्दिरा दृढ छिन् । ‘मेरो जीवन खुला किताब हो । मैले पुरस्कारका सबै रकम बच्चाहरूमा लगानी गरेकी छु ।’ उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भनिन् ।

एउटा आमाको सपना
इन्दिरा राना मगरको सपना ठूलो छ, जहाँ कुनै बच्चा ‘अपराधीको सन्तान’ भनेर चिनिनु नपरोस्, जहाँ शिक्षा, माया र अवसर सबैका लागि समान होस् । ‘राम्रो समाज बनाउन बच्चामा लगानी गर्नुपर्छ,’ उनको विश्वास यही हो । आज उनले हुर्काएका सन्तानहरू डाक्टर, नर्स, सैनिक, प्रहरी, शिक्षक बनेका छन् । कोही विदेशमा छन्, कोही नेपालमै समाजसेवामा । केही त अहिले उनकै संस्थामा हाउस मदर, हाउस फादर बनेर अर्को पुस्ता हुर्काइरहेका छन् । पछि समयले उनलाई राजनीतितिर पनि डो¥यायो । कोभिडकालको अव्यवस्था र राज्यको उदासीनता देखेपछि उनले महसुस गरिन् नीति र कानुन नबनी परिवर्तन सम्भव छैन । यही सोचले उनी राष्ट्रिय स्वतन्त्र पार्टी हुँदै उपसभामुखको जिम्मेवारीसम्म आइपुगिन् ।

तर पद जेसुकै भएपनि उनको मूल चिनारी उही छ—आमा । जेलभित्र जन्मिएका सपनाहरूलाई जीवन दिने आमा । उनी भन्छिन्, ‘सुरक्षित समाज बनाउने हो भने बालबालिकामा लगानी गर्नुपर्छ ।’ उनी राज्यको उपल्लो तहमा पुगेपनि, राज्यको कर्ममा दिनभर दौडिएपनि साँझ–विहान तिनै अवोध वालवालिकाहरुसँग हुन्छिन् । सँगै खान्छिन्, सँगै बस्छिन् ।
कारागारको अँध्यारो कुनाबाट सुरू भएको उनको यात्रा आज पनि जारी छ, जूनकिरीझैँ, अँध्यारोमा उज्यालो छर्दै ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ५६ बजे