काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सरकारमा सल्लाहकार रहेका मिर्जा शहजाद अकबरमाथि बेलायतमा आक्रमण भएको छ । आक्रमणका क्रममा उनको नाक र बंगारा भाँचिएको छ ।
घटना बेलायतको क्याम्ब्रिज सहरस्थित उनको निवासमा भएको हो । घरमै रहेका बेला आक्रमणकारी घरभित्र प्रवेश गरी अकबरको अनुहारमा पटक–पटक मुक्का प्रहार गरेको बताइएको छ । आक्रमणपछि उनी गम्भीर घाइते भएका छन् र तत्काल अस्पतालमा भर्ना गरिएको छ । हाल उनको उपचार जारी छ ।
आक्रमणबारे जानकारी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले सार्वजनिक गरेको हो । पीटीआईका अनुसार बिहान करिब ८ बजे ढोकाको घण्टी बजेपछि ढोका खोल्नेबित्तिकै एक अज्ञात गोरा व्यक्तिले अकबरमाथि आक्रमण गरेको थियो । केही समयको झडपपछि आक्रमणकारी घटनास्थलबाट फरार भएको बताइएको छ ।
अकबरले यस आक्रमणका लागि पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई जिम्मेवार ठहर्याएका छन् । उनले यसअघि पनि आफू पाकिस्तानबाट बाहिरिएपछि पटक–पटक आक्रमणको सामना गर्नुपरेको दाबी गरेका छन् । केही समयअघि अकबरले मुनिरलाई ‘कायर’ भनेको अभिव्यक्ति सार्वजनिक भएपछि उनीमाथि आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे जानकारी पाउनासाथ स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । आक्रमणकारीको पहिचान र उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
११ पुस २०८२, शुक्रबार
207
Shares








प्रतिक्रिया