काठमाडौं।अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि क्यारेबियन सागरमा ड्रोन आक्रमण गरी दुई निहत्था व्यक्तिको हत्या गराएको आरोप लागेपछि अमेरिकाको सुरक्षा नेतृत्व गम्भीर विवादमा परेको छ। घटनासम्बन्धी करिब ४० मिनेटको गोप्य भिडियो सार्वजनिक भएपछि पेन्टागन र कंग्रेसबीचको तनाव झनै बढेको छ।
गत सेप्टेम्बर २ मा ड्रग्स तस्करीविरुद्धको अभियानअन्तर्गत अमेरिकी सेनाले क्यारेबियन सागरमा एउटा डुंगामाथि ड्रोन आक्रमण गरेको थियो। पहिलो आक्रमणमा नौजनाको मृत्यु र दुईजना घाइते भएका थिए। त्यसपछि गरिएको दोस्रो मिसाइल प्रहारमा बाँचेका दुवै व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको छ। भिडियो हेरेका कंग्रेस सदस्यका अनुसार ती व्यक्तिहरू पानीमा तैरिँदै आत्मसमर्पण संकेत गरिरहेका थिए, तर त्यसैबेला दोस्रो प्रहार गरिएको देखिन्छ।
वासिङटन पोस्टका अनुसार, प्रारम्भिक चरणमा हेगसेथले सबैलाई मार्ने आदेश दिएको दाबी गरिएको छ। उनले पहिलो बयानमा आक्रमण प्रत्यक्ष हेरेको स्वीकार गरे पनि दोस्रो प्रहारको आदेश आफूले नदिएको बताएका छन्। रक्षामन्त्रीको पक्षमा एडमिरल फ्र्यांक ब्राडलीले संसद्मा बयान दिँदै अन्तिम निर्णय कानुनी सल्लाहपछि गरिएको दाबी गरेका छन्।
कंग्रेसले घटनाको सम्पूर्ण भिडियो हस्तान्तरण गर्न पेन्टागनलाई निर्देशन दिएको छ। साथै हेगसेथको यात्रा बजेटको २५ प्रतिशत रोक्ने निर्णयसहित कडा कदम चालेको छ। डेमोक्र्याट नेताहरूले उनको राजीनामा माग्दै राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि समेत दबाब बढाएका छन्।
ट्रम्प प्रशासनले ड्रग्स तस्करीविरुद्ध ‘नार्को टेररिस्ट’ अभियान चलाइरहेको छ। यही अभियानका क्रममा २१ ड्रोन आक्रमण हुँदै ८२ जनाको मृत्यु भएको पेन्टागनले जनाएको छ, तर मृतकहरू ड्रग्स तस्कर नै थिए भन्ने प्रमाण सार्वजनिक गरिएको छैन।
कानुनविद्हरूका अनुसार आत्मसमर्पण गरिरहेका, घाइते वा लडाइँमा सहभागी हुन नसक्ने अवस्थाका व्यक्तिमाथि आक्रमण गर्नु युद्ध अपराधको दायरामा पर्छ। भिडियोले यही बहसलाई चर्काएको छ र सम्पूर्ण घटनाले अमेरिकी रक्षा नेतृत्वमाथि गम्भीर कानुनी तथा राजनीतिक चुनौती खडा गरेको छ।










प्रतिक्रिया