काठमाडौं । पाकिस्तानी सेनाले पूर्वप्रधानमन्त्री इमरान खानलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप लगाएको छ ।
पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इमरान खानको अभिव्यक्तिले देशको सुरक्षा अवस्थालाई चुनौती दिएको दाबी गरे । उनले भने, “इमरान खानको बयान राष्ट्रिय सुरक्षाका लागि खतरा बनिसकेको छ ।” यस क्रममा सेनाका प्रवक्ताले उनीमा ‘मानसिक अस्थिरताको लक्षण’ समेत देखिएको दाबी गरेका छन् ।
हाल जेलमा रहेका इमरान खान र सेनाबीचको तनाव पछिल्ला दिनहरूमा उच्च बिन्दुमा पुगेको बताइएको छ । आफ्नो कार्यकालको अन्तिमतिर इमरानले तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । त्यसपछि सेना र उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बीचको सम्बन्ध थप बिग्रँदै गएको विश्लेषकहरू बताउँछन् ।
इमरान खान, उनका परिवारका सदस्य तथा पार्टी नेताहरूबीच प्रस्तावित भेटघाटसमेत स्थगित भएपछि राजनीतिक वृत्तमा थप तरंग पैदा भएको छ । पछिल्ला अभिव्यक्तिहरू सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक भएपछि अवस्था अझ तनावपूर्ण बनेको हो ।
पाकिस्तानको राजनीतिक इतिहासमा ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ वा ‘देशद्रोही’ का अभियोगहरू अक्सर विपक्षी नेतामाथि लगाइने गरेको उदाहरण छ । जनरल अयुब खानको शासनकालमा फातिमा जिन्नामाथि देशद्रोहको आरोप लगाइएको थियो । त्यसैगरी जुल्फिकार अली भुट्टोलाई फाँसी दिइयो भने बेनजीर भुट्टो र नवाज सरिफमाथि पनि विभिन्न समयमा राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो ।
राजनीतिक विश्लेषक अम्मार अली जानका अनुसार, “देशभक्ति, देशद्रोह, राष्ट्रविरोधी र भ्रष्टाचार जस्ता शब्दहरू प्रायः राजनीतिक बदनामका लागि प्रयोग गरिन्छन्।”
पछिल्लो सेनाको घोषणाले पाकिस्तानमा फेरि एकपटक नागरिक नेतृत्व र सैन्य प्रतिष्ठानबीचको द्वन्द्व सार्वजनिक रूपमा देखिएको छ ।










प्रतिक्रिया