ढाका। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पुरबचल न्यु टाउन प्रोजेक्टमा भएको प्लट बाँडफाँट अनियमिततासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ढाका अदालतले कारावासको सजाय सुनाएको छ। भ्रष्टाचार नियन्त्रण आयोग (एसीसी)का अनुसार हसिनामाथि हालसम्म चार वटा भ्रष्टाचार मुद्दामा दोष प्रमाणित भइसकेको छ।
अदालतले राजधानी विकास प्राधिकरण (राजुक) अन्तर्गत डिप्लोमेटिक जोनमा अवैध रूपमा प्लट प्राप्त गरेको ठहर गर्दै हसिनासहित उनकी बहिनी शेख रेहाना र रेहानाकी छोरी तथा बेलायती सांसद ट्युलिप सिद्दीकलाई दोषी ठहर गरेको हो।
फैसला अनुसार, हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरी वरिष्ठ राजुक अधिकारीहरूसँग मिलेमतो गर्दै पुरबचल सेक्टर–२७ मा प्रत्येक १० कट्ठाका ६ वटा प्लट अवैध रूपमा बाँडफाँट गराएकी थिइन्, जुन ढाका इम्प्रुभमेन्ट ट्रस्ट (जग्गा बाँडफाँट) नियम, १९६९ को उल्लंघन हो।
उक्त अनियमिततामा हसिनाका छोरा साजिब वाजेद जय, छोरी साइमा वाजेद पुतुल र ट्युलिप रिजवाना मुजीब सिद्दीकको नाम पनि जोडिएको एसीसीले जनाएको छ।
हसिनामाथि यसअघि पनि विभिन्न भ्रष्टाचार तथा दुरुपयोगसम्बन्धी मुद्दा चलिरहेका छन्। अदालतको पछिल्लो फैसलाले उनी र उनको परिवारमाथि कानुनी दबाब थपिएको छ।










प्रतिक्रिया