Logo

विश्व

ह्वाइट हाउस भेटपछि पनि मेयर–निर्वाचित ममदानी ट्रम्पप्रतिको टिप्पणीबाट नफर्किने



वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा पहिलो औपचारिक भेटपछि पनि न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानी आफ्ना अघिल्ला कडा टिप्पणीमा अडिग रहेका छन्।

शुक्रबार भएकाे भेटलाई उनले ‘मैत्रीपूर्ण र रचनात्मक’ भने पनि शनिबार एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा उनले राष्ट्रपति ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ भनेको अभिव्यक्तिमा आफू अडिग रहेको पुनः दोहोर्याए।

ममदानीका अनुसार भेटमा न्यूयोर्क सहरमा बढ्दो जीवनयापन खर्च मुख्य एजेन्डा थियो। उनले ट्रम्पसँग सहरका किफायती चुनौती, सार्वजनिक सुरक्षासहित नागरिक जीवनसँग सरोकार भएका विषयमा विस्तृत छलफल भएको बताए।

राष्ट्रपति ट्रम्पले पनि ममदानीप्रति सहृदयता देखाउँदै पत्रकारहरूलाई “मै उत्साहित छु” भनेका थिए। ममदानीले भने, असहमतिले सरकारी काम रोक्नु नहुने बताउँदै आफू विवाद गर्ने उद्देश्यले नभई न्युयोर्कवासीका समस्याको समाधान खोज्न ह्वाइट हाउस गएको स्पष्ट गरे।

ममदानीका विवादास्पद अभिव्यक्ति बारे पुनः प्रश्न सोधिँदा ट्रम्पले हल्का हाँसोका साथ ‘ठीक छ, तपाईं केवल ‘हो’ भन्न सक्नुहुन्छ’ भन्दै हात थपथपाएको उनले बताएका छन्।

भेटमा न्यूयोर्कमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको अघिल्लो चेतावनीसमेत चर्चा भएको थियो। ममदानीका अनुसार उनले एनवाइपिडी सार्वजनिक सुरक्षामा पर्याप्त सक्षम रहेको धारणा व्यक्त गरेका छन्। भेटपछि ट्रम्पले पनि ‘आवश्यक परे मात्र’ सेना पठाइने प्रतिक्रिया दिए।

चुनामअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत ममदानीलाई ‘कम्युनिस्ट पागल’ भन्दै आलोचना गरेका थिए र उनी मेयर बने सहरका संघीय कोष कटौती गर्ने चेतावनी दिएका थिए। ट्रम्पले ममदानीका प्रतिस्पर्धी एन्ड्र्यु कुओमोको खुलेर समर्थन गरे पनि कुओमो अन्ततः चुनावमा पराजित भएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : ०० बजे