काठमाडौं — अमेरिकाले भेनेजुएलाको तट नजिक हालसम्मकै ठूलो सैन्य शक्ति प्रदर्शन गरेको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनका सहयोगीहरूलाई विदेशी आतंकवादी संगठनसँग सम्बन्धित व्यक्तिहरूको सूचीमा राख्ने तयारी भइरहेका बेला अमेरिकी सैन्य गतिविधि तीव्र बनेको हो।
बिहीबार कम्तीमा छ अमेरिकी सैन्य विमानले भेनेजुएला तट क्षेत्र नजिक घण्टौँसम्म उडान भरे। तीमध्ये बी–५२ सामरिक बमवर्षक र एफ/ए–१८ई सुपरसोनिक लडाकु विमान रहेका छन्। अमेरिकी ‘दक्षिणी वायु सेना कमान्ड’ले यसलाई ‘बमवर्षक हमला प्रदर्शन’ भनेर व्याख्या गरेको छ। अमेरिकी पक्षका अनुसार यो शक्ति प्रदर्शन अवैध तस्करी नियन्त्रण र सम्भावित सुरक्षा जोखिम रोकथामका उद्देश्यले गरिएको हो।
यसअघि अमेरिकी विदेश विभागले ‘कार्टेल दे लोस सोल्स’लाई विदेशी आतंकवादी संगठन (एफटीओ) को सूचीमा राख्ने तयारी भइरहेको जनाएको थियो। अमेरिका अनुसार उक्त समूह मादुरो, भेनेजुएलाको सेना, गुप्तचर निकाय तथा न्याय प्रणालीका उच्च अधिकारीहरूको नियन्त्रणमा रहँदै हिंसात्मक आपराधिक समूहलाई सहयोग पुर्याइरहेको छ।
आतंकवादी संगठनको सूचीमा राखिए पनि यसले तत्काल सैन्य कारबाहीको अनुमति नदिने अमेरिकी कानुनी प्रावधान छ। तर ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले यसले भविष्यमा सैन्य विकल्पको सम्भावना बढाउन सक्ने आकलन गरेका छन्। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले यस्तो कदमले राष्ट्रपतिसमक्ष थप विकल्प उपलब्ध गराउने बताएका छन्।
एफ/ए–१८ई लडाकु विमान अमेरिकी युद्धपोत यूएसएस जेराल्ड फोर्डबाट उडाइएको थियो, जुन यसै हप्तादेखि क्यारेबियन क्षेत्रमा तैनाथ छ। त्यस्तै, एक आरसी–१३५ ‘रिभेट जोइन्ट’ निगरानी विमानले भेनेजुएलाको पूर्वी सीमा नजिक बारम्बार उडान गरिरहेको देखिएको छ।
उता, बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा मादुरोसँग वार्ता सम्भावना रहेको बताएका छन्। अमेरिकी विशेष दूत रिक ग्रेनेलको नेतृत्वमा भएको वार्ता गत महिना रोकिएको थियो, सोही समयदेखि अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थितिसमेत विस्तार गरेको थियो।
अमेरिकाले पछिल्ला एक महिनामा भेनेजुएलानजिक बी–५२, बी–१ लगायतका बमवर्षक तथा अन्य लडाकु विमानको उडान क्रमशः बढाउँदै आएको छ।










प्रतिक्रिया