काठमाडौं । अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो ।
कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो ।
स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, स्पेयर पाट्र्स तथा लाइफसाइकल सपोर्ट पाउनेछ ।
यसबाहेक, भारतलाई २१६ थानसम्म एम ९८२ ए–१ एक्सक्यालिबर उच्च–सटीकता तोपगोला आपूर्ति गरिनेछ, जसको अनुमानित मूल्य ४७.१ मिलियन डलर पर्ने बताइएको छ ।
बिक्री प्रक्रियाअन्तर्गत अमेरिकी कांग्रेसलाई आवश्यक जानकारी पठाइएको डिएससीए ले जनाएको छ । यसमा नन–एमडीई सामग्रीहरू जस्तै पोर्टेबल इलेक्ट्रोनिक फायर कंट्रोल सिस्टम सहितका सुधारिएको प्लेटफर्म एकीकरण किट, प्राइमर, प्रोपेल्यान्ट, प्रविधिक सहयोग, मर्मत तथा अन्य लजिस्टिक तथा कार्यक्रम समर्थनसमेत समावेश गरिएको छ ।
डिएससीए का अनुसार, प्रस्तावित यो बिक्रीले अमेरिकी वैदेशिक नीति तथा राष्ट्रिय सुरक्षा लक्ष्यलाई सुदृढ पार्नेछ, साथै अमेरिका–भारत रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ । यो सहकार्यले इन्डो–प्यासिफिक र दक्षिण एसियाली क्षेत्रमा स्थिरता तथा आर्थिक प्रगतिलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।
एजेन्सीले भारतको वर्तमान तथा भविष्यका सुरक्षासम्बन्धी चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने र भारतीय सेनाले यी प्रणालिहरू सहज रूपमा अपनाउन सक्ने बताएको छ । साथै, यसले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै असर नपर्ने डिएससीएको भनाइ छ ।
यस बिक्रीका मुख्य ठेकेदार अमेरिकाको आर्लिङ्टन, भर्जिनियामा अवस्थित एक लकम्पनी हुनेछ । हालसम्म कुनै ‘अफसेट एग्रिमेन्ट’ प्रस्तावित नभएको र त्यस्तो व्यवस्था भएमा भारत र ठेकेदारबीचको वार्ताबाट तय हुने डिएससीएले स्पष्ट पारेको छ ।
सञ्चालनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधि खटाउन आवश्यक नपर्ने तथा यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ । एएनआई










प्रतिक्रिया