Logo

विश्व

सुडानमा मानवीय संकट तीव्र, संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी



खार्तुम — सुडानमा बढ्दो मानव आवागमन, भीडभाड र द्वन्द्वका कारण मानवीय अवस्था झनै जटिल बन्दै गएको संयुक्त राष्ट्रसंघका मानवीय एजेन्सीहरूले चेतावनी दिएका छन्।

पोर्ट सुडानस्थित युएनएचसीआर उप–कार्यालय प्रमुख ज्याक्लिन विल्माका अनुसार अल–फसिर क्षेत्रमा ठूलो सङ्ख्यामा नागरिकहरू फसेका छन्। उनीहरू सुरक्षित स्थानतर्फ हिँडिरहेका भए पनि यात्रा मार्गमा बढ्दो जोखिम तथा पुनः अल–फसिरमै फर्कनुपर्ने भयका कारण आवागमन रोकिएको उनले बताइन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले देशमा फैलिएको भोकमरी र हैजाको प्रकोपले हालसम्म ३५०० भन्दा बढीको ज्यान लिएको जनाएको छ। डब्लुएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरका अनुसार सेप्टेम्बरसम्म सुडानका २ करोड १० लाखभन्दा बढी नागरिक गम्भीर खाद्य असुरक्षाको अवस्थामा छन्। अल–फसिर र काडुगलीमा अनिकाल फैलिएको र दारफुर तथा कोर्दोफानका अन्य २० क्षेत्रमा पनि संकट फैलिने खतरा भएको उनले बताए।

संयुक्त राष्ट्रसंघीय माइन एक्सन सर्भिस (युएनएमएएस) ले खाद्य अभाव तथा रोग मात्र होइन, विस्फोटक पदार्थ र जारी लडाइँका कारण पनि स्थानीय नागरिकहरू उच्च जोखिममा परिरहेको जनाएको छ।

मानव अधिकार परिषद्ले अल–फसिरको बिग्रँदो अवस्थाबारे छलफल गर्न र पछिल्लो हिंसात्मक घटनामा र्यापिड सपोर्ट फोर्स (आरएसएफ) संलग्न रहे–नरहेको छानबिनका लागि तथ्य–अनुसन्धान मिशन पठाउने प्रस्तावमा सदस्य राष्ट्रहरूको अनुरोधलाई गत शुक्रबार विचार गरेको थियो।

देशका विभिन्न भागमा सेना र आरएसएफबीचको द्वन्द्व चर्किँदै गएको छ। द्वन्द्वको शुरुवाती केन्द्र दारफुर क्षेत्र गत महिना आरएसएफको पूर्ण नियन्त्रणमा गएको अन्तर्राष्ट्रिय निकायहरूको भनाइ छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : २५ बजे