कोलम्बो । श्रीलङ्काको नौसेनाले चालु वर्षको सुरुदेखि हालसम्म आफ्नै जलक्षेत्रमा अवैध माछा मार्ने गतिविधिमा संलग्न ३२८ भारतीय माझीलाई पक्राउ गरेको छ। श्रीलङ्काका मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
उनका अनुसार, पक्राउ परेकासँगै भारतीय माझीहरूले प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गा समेत जफत गरिएको छ। उपमन्त्री गामागेले सन् २०२४ को तुलनामा यस वर्ष भारतीय माझीहरूको पक्राउ संख्या उल्लेखनीय रूपमा बढेको बताए।
विदेशी माझीहरूको अवैध प्रवेश नियन्त्रणका लागि कारबाही तीव्र पारिएको उल्लेख गर्दै उनले नौसेनालाई मत्स्यपालन मन्त्रालय र श्रीलङ्काली प्रहरीले सहयोग र समन्वय गरेको जानकारी दिए।
गामागेले प्रतिबन्धित र विनाशकारी माछा मार्ने प्रविधि प्रयोगका कारण श्रीलङ्काको समुद्री वातावरण र स्थानीय माझीहरूको जीविकामा खतरा उत्पन्न भएको बताए। उनका अनुसार, यस्ता अवैध गतिविधि रोक्न सरकार कडाइका साथ निगरानी र कारबाहीमा केन्द्रित छ।










प्रतिक्रिया