काठमाडौं — बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृद्धि गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ।
सीमा नाकामा खटिएका एसएसपीहरूले दैनिक र साप्ताहिक रूपमा आफ्नो कार्यको विवरण सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्नेछन्। उनीहरूले राजस्व चुहावट, चोरीनिकासी, पैठारीसम्बन्धी गैरकानुनी कार्यमा रोक लगाउने तथा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने कार्य गर्नेछन्।
उनीहरूको टोली लागुऔषध, हातहतियार ओसारपसार र फरार कैदीसम्बन्धी आपराधिक गतिविधि नियन्त्रणमा पनि संलग्न हुने छ। साथै, भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय र सर्वसाधारणसँग समन्वय गर्दै सीमा अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ।
एसएसपीहरूको खटाइ यस प्रकार छ:
कोसी प्रदेश: दिगविजय सुवेदी — गुल्म काँकडभिट्टा (झापा), रानी (मोरङ) र अन्य सीमानाकाको निगरानी। (फोन: ९८५१००१९४२)
मधेस प्रदेश: माधवप्रसाद पौडेल — नं ८ गण (धनुषा), गुल्म वीरगञ्ज (पर्सा) र अन्य सीमानाकाको निगरानी। (फोन: ९८५१२६००२७)
लुम्बिनी प्रदेश: रविनराज कर्णजीत — गुल्म डण्डा (रूपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके) र अन्य सीमानाकाको निगरानी। (फोन: ९८५१२६००२७)
सुदूरपश्चिम प्रदेश: गङ्गाराम श्रेष्ठ — गुल्म त्रिनगर (कैलाली), गड्डाचौकी (कञ्चनपुर) र अन्य सीमानाकाको निगरानी। (फोन: ९८५१२६७७७७)
सर्वसाधारण र सरोकारवालाले यी फोन नम्बरमार्फत सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण सम्बन्धमा सम्पर्क गर्न सक्ने सशस्त्र प्रहरीले जनाएको छ।










प्रतिक्रिया