Logo

मुख्य समाचार

हमासले चार मृतक बन्धकको नाम सार्वजनिक, सबै शव फिर्ता सम्भव नहुने दाबी



काठमाडौं – हमासले सोमबार चार मृतक इजरायली बन्धकको नाम सार्वजनिक गर्दै शव फिर्ता गर्ने तयारी गरेको जनाएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जेनरल एफि डेफ्रीनका अनुसार, फिर्ता गरिने बन्धकहरूमा गाई इलोज, योसी शराबी, विपीन जोशी र डेनियल पेरेज रहेका छन्।

सेनाका अनुसार इलोजको मृत्युबारे उनका परिवारलाई अक्टोबर ७, २०२३ को हमलाको ५६ दिनपछि जानकारी दिइएको थियो। योसी शराबीको मृत्यु इजरायली वायुसेनाको आक्रमणमा उनी राखिएको भवन भत्किँदा भएको जनाइएको छ। डेनियल पेरेजको मृत्युबारे जानकारी मार्च २०२४ मा दिइएको थियो। विपीन जोशीको अवस्थाबारे पहिले स्पष्ट नभएको भए पनि अब उनको मृत्यु पुष्टि भएको छ।

यसबीच, बन्धक परिवार फोरमले हमाससँगको सम्झौता स्थगनको माग गर्दै सबै मृतक बन्धकहरूको शव फिर्ता नभएसम्म सम्झौता अघि नबढाउन इजरायली सरकारलाई आह्वान गरेको छ। फोरमले हमासद्वारा सम्झौता उल्लंघन भएको भन्दै सरकार र मध्यस्थकर्ताले गम्भीर प्रतिक्रिया जनाउनुपर्ने बताएको छ।

इजरायली सेनाले बाँकी २४ मृतक बन्धकबारे कुनै विवरण सार्वजनिक गरेको छैन। तिनीहरूको शव कहिले र कसरी फिर्ता गरिने भन्ने विषयमा पनि स्पष्टता छैन।

उता, हमासले हालै दिएको वक्तव्यमा इजरायली आक्रमणका कारण गाजामा ठूलो क्षति भएको उल्लेख गर्दै सबै मृत बन्धकको शव फेला पार्न नसकिने चेतावनी दिएको छ। हमासले केही बन्धकहरूलाई विशिष्ट भवन नजिक गाडिएको बताएको छ, तर ती संरचना पूर्ण रूपमा ध्वस्त भएकाले वास्तविक शव पत्ता लगाउन कठिन हुने जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ४१ बजे