कर्णाली । सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने मुख्य ढोका मानिने कर्णाली चिसापानी अहिले माछाका परिकारका लागि निकै प्रसिद्ध बन्दै गएको छ । यहाँ आउने यात्रुहरूलाई कर्णालीको चिसो हावा र ताजा माछाको स्वादले स्वागत गर्ने गर्छ ।
चिसापानी क्षेत्रमा साना ठूला होटलहरूदेखि लिएर टोकरीमा माछा र अचार बोकेर बेच्ने स्थानीय व्यापारीहरूसम्म सबैले राम्रो आम्दानी गरिरहेका छन् ।
साना माछाको मूल्य ५० रुपैयाँ र ठूला माछाको मूल्य १०० रुपैयाँ तोकिएको छ । यात्रुहरूका अनुसार, कर्णालीको माछा नखाई यात्रा अधुरो रहन्छ ।
पूर्वी जिल्ला तथा राजधानीबाट छुटेका बसहरू चिसापानीमा केहीबेर रोकिन्छन् । चालकदेखि यात्रुहरूसम्म सबैले यहाँका स्वादिला माछाका परिकारको मजा लिन्छन् ।
नवराज चापागाईं, चिसापानी निवासी होटल व्यवसायी हुन् । उनी आफ्नो न्यू दीपेश बाग्लुङ होटलमार्फत कर्णालीका माछाका विभिन्न परिकार बनाएर बेच्ने गर्छन् । उनका अनुसार, हाम्रो होटलमा दैनिक सयौं यात्रुहरू आउँछन्, माछाका परिकार नै मुख्य आकर्षण बनेका छन् ।
त्यस्तै, मिना गुरुङ, सुर्खेतकी होटल व्यवसायी हुन् । उनले ‘देउती होटल’ सञ्चालन गरेकी छन् । उनको होटलमा माछासँगै अन्य ताजा परिकार पनि पाइन्छ । गुरुङ भन्छिन्, ‘यही होटलबाटै छोराछोरीको पढाइदेखि घर खर्च चलाउन सक्ने अवस्था भएको छ ।’
सडक छेउमै टोकरी बोकेर माछा बेच्ने चन्द्र कठायत पनि सफल उदाहरण हुन् । उनी भन्छन्, ‘दिनको २५ सयदेखि ५ हजारसम्म कमाइ हुन्छ । यात्रुहरू माछा र अचार मन पराउँछन् ।’
कर्णाली नदीको किनारमा बसेको यो ठाउँ अहिले माछाको स्वादको मुकाम बनेको छ । यहाँ नआइकन यात्रा अधुरो मानिन्छ ।
प्रतिक्रिया