दसैं आएर होला गाउँमा निकै उत्साह छ । अग्ला ठाउँहरुमा पिंङ हाल्ने, सांस्कृतिक कार्यक्रम गर्ने र खेलकूद प्रतियोगिता जस्ता क्रियाकलापले गाउँमा दसंैको उत्साह बढाएको छ ।
सुर्खेत । नेपाली हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाड दसैं नजिकिएसँगै गाउँ–सहरमा दसंैको उत्साह बढेको छ । विगतका वर्षझैँ घरपरिवारसित चाडपर्व मनाउन रोजगारी र अध्ययनका लागि घरबाहिर गएका नेपालीहरु हर्षोउल्लासका साथ दसैं मनाउन मातृभूमि फर्किरहेका छन् ।
काम, व्यापार–व्यवसाय, शिक्षादिक्षालगायतको सिलसिलामा सहर रहेकाहरु गाउँ फर्कने र भारतलगायतका अन्य मुलुक गएकाहरु पनि दसैं मनाउन घर फर्कन थालेका हुन् ।
दसैं नजिकिँदै गर्दा कर्णालीका हिमाली र पहाडी जिल्लाबाट काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायतका अन्य जिल्लामा रहेकाहरु पनि गाउँ फर्किन थालेपछि सुर्खेत बसपार्क र वीरेन्द्रनगर बजारमा बाक्लो भीड लाग्ने गरेको छ । प्रायः सवारी साधनहरुको चाप कम हुने कर्णाली राजमार्गमा पनि सवारीका साधनहरुको संख्या दैनिक बढ्न थालेको छ ।
दसंैले गाउँ–शहरमा उल्लास, चहलपहल र व्यस्तता बढेको छ । कालिकोट नरहरीनाथ–३ का गणेश न्यौपानेले तीन बर्षपछि भारतबाट यो बर्ष दसै मनाउन घर फर्किएको बताए ।
भारतको बैङलोर सहरमा रोजगारी गरी रहेका उनले घरपरिवारसंग भेट हुने आशामा घर फर्किएको बताए । ‘यो बर्ष आमाको हातबाट टीका जमरा लगाउन पाइने छ भने गाउँका सबै आफन्तसंग भेट हुनेछ’ उनले भने, ‘हरेक बर्ष दसैंमा छुट्टि पनि नमिल्ने र आउन जानपनि धेरै खर्चिलो हुने भएकाले एक दुई बर्ष बिराएर घर आउन पाइन्छ ।’ लामो समयपछि घर आउँदा छुट्टै आनन्द महसुस भएको उनको भनाई छ । गणेशजस्तै बैङलोरमा रहेका हजारौ नेपालीहरु दसैं विदाकै पर्खाइमा रहेन उनले बताए ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बोताकी सिर्जना रावत दसैं मनाउन जुम्लाको गाउँमा जाने तयारी गरिरहेकी छिन् । जुम्ला जन्मेर सुरर्खेतमा हुँर्कदै पढेकी सिर्जनालाई दसैंमा घर जान गाउँमै जान पाउँदाको छुट्टै खुशी मिल्ने गरेको बताउँछिन् ।
‘एक वर्षपछि फेरि घर जान लागेकी छु,’ उनले भनिन्, ‘दसैंमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैसँग भेटिन्छ । गाउँको जमघटमा रमाइलो हुन्छ ।’ सुर्खेतकी करुणा बुढाथोकीपनि दसैं मनाउन आफ्नै घर फर्किंदै छिन् । उनी भन्छिन्, ‘शहरमा दसैंको रौनक देखिए पनि गाउँमा त्यो आत्मीयता हुन्छ । सयपत्रीको माला, जमरा राख्ने थाली, टीकाको टल्काउने निधार, यी सबैको मजा गाउँमै छ ।’
अरु समयमा सुनासान देखिने कर्णालीका गाउँहरुमा दसैंको रौनकले उत्साह थपेको गाउँ पुगेकाहरु बताउँछन् । ‘अरु बेला गाउँमा मान्छे नै भेटिदैनन्’ कालिकोट शान्नित्रिवेणीका अर्जुन सुवेदी भन्छन्, ‘दसैं आएर होला गाउँमा निकै उत्साह छ ।’ गाउँमा अग्ला ठाउँहरुमा पिंङ हाल्ने, सांस्कृतिक कार्यक्रम र खेलकूद प्रतियोगिता जस्ता क्रियाकलापले गाउँमा दसंैको उत्साह बढाएको छ ।
बजारमा बाक्लो भीड
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका मुख्य बजारमा दसैँ तिहारलगायतका चाडपर्वका लागि किनमेल गर्नेहरुको भीड बाक्लो छ । दैनिक व्यापार व्यवसाय बढेपछि व्यापारीहरु उत्साहित छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्य सहरबाट फर्किनेहरु पनि बढेका छन् भने वीरेन्द्रनगरबाट बाहिरिनेको संख्या पनि उत्तिकै छ । घर फर्किदा किनमेल गर्नेहरुले वीरेन्द्रनगरको व्यापार बढाएको व्यवसायीहरु बताउँछन् ।
बजारमा नयाँ कपडा, चप्पल, श्रृङगार सामग्री, मिठाई र अन्य चाडपर्वका सामग्रीहरूको कारोबार राम्रै हुने गरेको छ । यसका साथै घरायसी सामानहरुको कारोबारो पनि बढेको व्यवसायीहरु बताउँछन् ।
यात्रामा सास्ती
दसैमा घर फर्किनेहरु जुन उत्साहका साथ गाउँ फर्किरहेका छन् कर्णालीका विभिन्न जिल्लामा यात्रा गर्दा भने सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ । कर्णाली राजमार्गको कष्टकर यात्रा गर्नुपर्दा उनीहरु दुखित छन् । सुर्खेतदेखि कालिकोटको टिकटका लागि दुई दिन सुर्खेतमा कुर्नु परेको बताउने कालिकोट शान्नित्रिवेणी गाउँपालिका–२ का अर्जुन सुवेदीले समयमै टिकट नपाएको दुखेसो गरे ।
‘पोखराबाट आएर दुई दिन सुर्खेत बस्दा पनि टिकट पाईएन्’ उनले भने, ‘अझ बाटो पनि अवरुद्ध हुने डर पनि त्यत्तिकै छ ।’
कर्णाली राजमार्गमा क्षमताभन्दा बढी यात्रु बोक्ने, चालकको लापरवाही र अधिकांश सडकहरु मापदण्ड अनुसारका नहुँदा वर्षेनी कर्णालीमा सडक दुर्घटनामा ठुलो धनजनको क्षति हुने गरेको छ । निकै डरलाग्दो यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।
कर्णाली भित्रिने र बाहिरिने यात्रुको सहजताका लागि प्रहरीले विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले दसैलाई दुर्घटनारहित बनाउन चालक तथा कर्मचारीलाई सचेत बनाइएको बताए ।
‘यात्रुलाई गन्तव्यमा पु¥याउन चालकको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने, ‘दुर्घटनारहित दसै बनाउँने अभियानमा यातायात व्यवसायी छन् ।’ चाडपर्वका क्रममा क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुलाई हैरानी दिने, मर्मत नगरिएका सवारी साधन चलाउने जस्ता कार्यहरु प्रहरी र यातायात व्यवसायीको सहकार्यमा हुन नदिने उनले बताए ।
प्रहरीको एकीकृत सुरक्षा योजना
चाडपर्वमा हुनसक्ने सुरक्षा जोखिम कम गर्न प्रहरीले एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२लागू गरेको छ । असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म लागू हुने उक्त कार्ययोजना अनुसार कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन भएका छन् । प्रदेश प्रहरी कार्यालयले तयार पारेको उक्त कार्ययोजना अनुसार ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले बताए ।
त्रिपन्नवटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्युआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन गर्नुका साथै १७८ वटा पैदल गस्ती सञ्चालन गरिएको उनले बताए । साथै २० वटा लामो तथा छोटो दूरीका गस्तीसमेत परिचालन गरिएको छ ।
सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छभने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको, यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बैंक, वित्तीय सङ्घसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ । आठ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य विभिन्न स्थानको सुरक्षामा पनि प्रहरी परिचालन गरिएको खनालले उल्लेख गरे ।
करोडौँका खसी बोका निर्यात
दसैँका लागि सुर्खेतको बबई नाकाबाट करोडौँका खसी बोका बाहिरिएका छन् । हिन्दु नेपालीहरूको महान् चाड विजया दशमीका लागि सुर्खेतको बबई नाकाबाट दिनप्रतिदिन खसी बोका बाहिरिएका हुन् । भदौ महिनादेखि असोजको ५ गतेसम्ममात्रै पाँच करोड २६ लाख ७७ हजार मूल्यबराबरका खसी बोका निर्यात भएका हुन् ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत हर्रे–बबई नाका तथ्याङ्क सहायक दिपप्रसाद उपाध्यायका अनुसार दसैँका लागि भदौ महिनादेखि असोज पाँच गतेसम्म दुई हजार ६५६ वटा खसी बोका निर्यात भएका छन् । निर्यात भएका दुई हजार ६५६ वटा खसी, बोका भनिएपनि सङ्ख्यामा खसी, बोका, च्याङ्ग्रा र भेडा रहेको उनले बताए ।
भदौ महिनाभरी एक हजार ६८१ खसी, बोका निर्यात भएका थिए भने असोज १ गतेदेखि ५ गतेसम्म मात्रै एक हजार ७५ वटा खसी, बोका निर्यात भएको उनले जानकारी दिए । दसैँका लागि भन्दै व्यापारीहरूले ट्रकहरूमा खसी, बोका ढुवानी गरेर नेपालगन्ज, बुटवल, चितवन, हेटौँडा, काठमाडौँलगायतका विभिन्न सहरहरूमा निर्यात गर्ने गरेका छन् ।
कर्णाली प्रदेशबाट कृषि तथा पशुपन्छीजन्य बस्तुहरू निर्यात भएको तथ्यांक बिस्तारै बढ्दो ग्राफमा रहेको तथ्यांक सहायक दिपप्रसादले बताए । उनका अनुसार यो अविधमा दुई लाख ७३ हजार बराबरका ७८ वटा भैँसी÷रांगा निर्यात भएका छन् । यस्तै मुगुको खत्याड गाउँपालिका–१० का ४४ वर्षीय व्यापारी जयलाल रोकायाले दसैँका लागि हुम्लाबाट १३२ ओटा भेडा, च्याङ्ग्रा पोखरा लिने भन्दै निर्यात गरेका छन् ।
प्रतिक्रिया