ठमेल केवल नेपालको मात्र नभई विश्व पर्यटन नक्सामा एउटा विशेष पहिचान बोकेको क्षेत्र हो । त्यसैले यसको विश्वसनीयता र आकर्षण जोगाउन साझा प्रतिबद्धता र सहकार्य आवश्यक छ ।
सहदेव धमला (विमल)
उपाध्यक्ष
ठमेल पर्यटन विकास परिषद, काठमाडौं
नेपालमा पछिल्लो समय भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । नेपाल भ्रमणमा आउन लागेका सयौं पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन् । यसै सिलसिलामा अबको पर्यटन पुनःउत्थानका लागि के गर्न सकिन्छ भनेर नेपाल न्यूज बैंकले ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष सहदेव धमला(विमल)सँग कुराकानी गरेको छ ः
हालैको जेनजी आन्दोलनले ठमेलसहित समग्र पर्यटन क्षेत्रमा कस्तो असर पारेको छ ?
पछिल्लो समयमा देशमा राजनीतिक अस्थिरता र विभिन्न प्राकृतिक विपत्तिहरूले जनजीवन मात्र नभई पर्यटन क्षेत्रलाई पनि गम्भीर असर पारेको छ । विशेषगरी, जेनजी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्रमा अलिकति अन्तर्राष्ट्रिय बजारमा फरक खालको सन्देश गएको देखिएको छ ।
राजनीतिक व्यवस्था परिवर्तन हुनु र नयाँ पुस्ताले खोजेको सुशासनको प्रत्याभूति नहुँदा जनमानसमा वितृष्णा बढ्नु स्वाभाविक हो । यसले राज्य सञ्चालन र गतिविधिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको कुरा एकदमै राम्रो हो यसलाई समय परिस्थीति अनुसार आत्मसात पनि गर्नुपर्छ । तर, आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिले भने अन्तर्राष्ट्रिय बजारमा नेपाललाई विदेशी दृष्टिकोणमा नकारात्मक प्रभाव पारेको देखिन्छ ।
हालको परिस्थितिको प्रत्यक्ष असर पर्यटक आगमनमा परेको छ । जसले गर्दा नेपाल आउने धेरै विदेशीहरुको संख्यामा कमी आएको छ । पछिल्लो समय नेपाल भ्रमण गर्न योजना बनाएका धेरै विदेशीहरूले आफ्ना यात्रा रद्द गरेका छन् । यसका कारण काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल आजको दिनमा करिब–करिब कोभिड महामारीको समयमा जस्तै सुनसान देखिएको छ ।
अहिले नेपाल आउने पर्यटकहरुको सङ्ख्या कति प्रतिशत जतिले घटेको छ ?
ठ्याक्कै फिगरमा डाटा अहिलेसम्म आइसकेको छैन् । तर, यसो भन्न सकिन्छ, पर्यटक आगमनमा करिब–करिब ४० देखि ५० प्रतिशतले प्रत्यक्ष प्रभाव परेको छ । किनभने, यो सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको सिजनमा नै धेरै विदेशीहरु नेपाल आउने गर्दछन् । नेपाल आउने पर्यटकहरु मध्ये करिब ४० प्रतिशत पर्यटक एसियाका विभिन्न देशहरूमा घुम्दै गर्दा एउटा डेस्टिनेसन नेपाललाई बनाएर लास्ट मिनेटमा बुक गरेर आउने भन्ने हुन्छ । त्यसकारणले गर्दा, त्यो लास्ट मिनेटमा आउने पर्यटकहरूले आफ्ना बुकिङहरू रद्द गरेका छन् ।
अन्तर्राष्ट्रिय मिडियाहरूले पनि हाम्रो देशको राजनीतिक घट्नाक्रमलाई एकदम हाइलाइट गरेर कभर गरेको देखियो । जसले गर्दा विदेशीहरूलाई एक खालको नकारात्मक असर पर्यो । मलाई लाग्छ यतिखेर हाम्रो हाटलहरुको ओक्युपेन्सी ६०–७० प्रतिशत भन्दा माथि पुगेको हुनुपर्ने हो । ट्राभल एजेन्सीहरू, ट्रेकिङहरू या अहिले पर्यटकीय सिजन भएको कारणले गर्दा ट्रेकिङ ट्रायलहरूमा पनि खचाखच पर्यटकहरू देखिनुपर्ने अवस्था हो ।
तर आजका दिनमा ठमेलका होटलहरूमा सोध्दै गर्दा २०–३० प्रतिशत भन्दा बढी पर्यटकहरू छैनन् भन्ने अनुभूतिको आधारमा म के भन्न सक्छु भने, करिब–करिब ५० प्रतिशत पर्यटकहरूलाई यसको प्रत्यक्ष प्रभाव परेको छ जस्तो लाग्छ ।
पर्यटकीय सिजनको शुरुआतमा नै आन्दोलन हुँदाको असर कति लामो रहला ?
नेपालमा हालै भएको आन्दोलनले देशको आन्तरिक राजनीति मात्र होइन, अन्तर्राष्ट्रिय कूटनीतिमा समेत गम्भीर असर पारेको देखिन्छ । विगतमा भएका आन्दोलन वा राजनीतिक परिवर्तनलाई विदेशी समुदायले सामान्य राजनीतिक संक्रमणका रूपमा बुझ्ने गर्थे । दशक लामो माओवादी जनयुद्धको समयमा पनि नेपाललाई राजनीतिक रूपान्तरणको प्रक्रियामा रहेको देशको रूपमा मात्र लिइन्थ्यो । तर, हालको आन्दोलनलाई भने अन्तर्राष्ट्रिय समुदायले भिन्न तरिकाले व्याख्या गरेको छ ।
यसपटकको आन्दोलनलाई विदेशीहरूले राजनीतिक मात्र नभई ‘क्रिमिनल माइन्डसेट’ सँग पनि जोडेर हेरेको देखिन्छ । यसको पछाडि दुई प्रमुख कारण देखिन्छन् । पहिलो, नेपालमा दण्ड सजाय भोगिरहेका र जेलमा भएका व्यक्तिहरू समेत समाजमा सक्रिय रहेको र त्यसको प्रचार–प्रसार अन्तर्राष्ट्रिय मञ्चमा भएको छ । दोस्रो, आन्दोलनका क्रममा प्रहरी प्रशासनबाट खोसिएका वा लुटिएका हतियार समाजमा व्याप्त भएको सन्देश बाहिरिएको छ । यी घटनाले नेपालको आन्तरिक सुरक्षा संयन्त्र कमजोर भएको धारणा बनाएको छ ।
यस्तो सन्देशले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि गम्भीर रूपमा प्रभावित गरेको छ । एकातिर नेपालको कूटनीति कमजोर भई नकारात्मक प्रचारलाई खण्डन गर्न नसक्दा, अर्कोतिर आन्दोलनको दृश्यलाई अतिरञ्जित गरेर प्रस्तुत गरिँदा नेपाललाई असुरक्षित र अराजक देशका रूपमा चित्रण गरिएको छ । यसले विदेशी मुलुकहरूलाई सतर्क बनाएको छ ।
यसै कारण, क्यानडादेखि अन्य मुलुकहरूले नेपाली नागरिकका भिसा प्रक्रियामा कठोरता अपनाउन थालेका छन् । कतिपय मुलुकहरूले त नेपालीको आवागमनमै कडाइ गरेका छन ्। यो प्रवृत्ति विस्तारै अन्य देशमा फैलिँदै गएको संकेत देखिन्छ, जसले नेपालको श्रम, पर्यटन र कूटनीतिक सम्बन्धमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने जोखिम छ । नेपालका लागि अहिलेको आवश्यकता भनेको तत्काल कूटनीतिक सक्रियता, स्पष्ट सन्देश प्रवाह र विश्वसनीय सुरक्षा संयन्त्रको प्रदर्शन गर्नु हो । विदेशी समुदायमा नेपालको छवि पुनःस्थापित नगरेसम्म, भिसा कडाइ र नकारात्मक कूटनीतिक प्रभाव अझ गहिरिँदै जाने निश्चित छ ।
नेपालमा भएको आन्दोलनका खबरहरू अन्तर्राष्ट्रिय मिडियामा समेत पुगेका छन् । दीर्घकालीन रूपमा पर्यटन उद्योगमा यसले कस्तो असर पर्न सक्छ ?
नेपालको पर्यटन क्षेत्रमा पछिल्लो राजनीतिक घटनाक्रमले गम्भीर असर पारेको छ । विभिन्न देशहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सावधानी अपनाउन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन, जसले नेपाललाई सुरक्षित गन्तव्य नभएको सन्देश विश्वभर पु¥याएको छ । यसले पर्यटन व्यवसायीहरूमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ । व्यवसायमा करिब ३०–४० प्रतिशतभन्दा बढी बुकिङहरू स्थगित वा रद्द भएको अनुभव गरिएको छ ।
पर्यटकहरूको प्रमुख चिन्ता भनेको सुरक्षा हो । नेपालमा प्राकृतिक प्रकोप—जस्तै हिमपहिरो, भू–स्खलन, सडक अवरुद्ध जस्ता समस्या—सामान्यरूपमै आउने भएपनि तीलाई सामान्य ‘नेचुरल फेनोमेना’ का रूपमा लिइन्छ । तर राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बाहिरिएको भयावह दृश्यहरूले नेपाललाई असुरक्षित देखाएको छ । विदेशबाट हेर्दा नेपाल जोखिमयुक्त देखिएको भए पनि, नेपालमै आएका पर्यटकहरूले भने यहाँको अनुभवलाई त्यति नकारात्मक रूपमा लिएका छैनन् । उनीहरूका लागि नेपाल समाजिक रूपमा परिवर्तनशील देश र नयाँपन दिने गन्तव्यका रूपमा देखिएको छ ।
नेपाल आउने पर्यटकहरूको उद्देश्य दुई खालको हुन्छ—विशुद्ध विदा मनाउन आउने र नयाँ सांस्कृतिक तथा सामाजिक अनुभव खोज्ने, दुबै अवस्थाका लागि ‘सुरक्षा’ पहिलो शर्त हो । त्यसपछि मात्र सेवा–सुविधा र पूर्वाधारको महत्व आउँछ । नेपालमा मानवता, आतिथ्य र पर्यटनमैत्री संस्कृतिले विदेशीलाई आकर्षित गरेपनि अपर्याप्त पूर्वाधार र योजनाबद्ध सेवाको अभावले उनीहरूलाई असुविधा हुने गरेको छ ।
हालको राजनीतिक तरलताले शान्ति–सुरक्षा र सुशासनप्रति प्रश्न खडा गरेको छ । कुनबेला के हुने भन्ने अनिश्चितताले पर्यटकहरू हिच्किचाउने अवस्था बनाएको छ । यदि राजनीतिक दलहरूले जिम्मेवार ढंगले नवीन परिवर्तित परिस्थितिलाई आत्मसात गर्दै सुशासन र लोकतन्त्रमा प्रतिबद्धता देखाएर निर्वाचनमार्फत जनमतको सम्मान गर्ने हो भने मात्र नेपालले स्थायित्वको बाटो समात्न सक्छ । स्थिरता कायम भएमा मात्र पर्यटनसँगै अन्य सम्पूर्ण क्षेत्र चलायमान हुने अपेक्षा गर्न सकिन्छ ।
यसकारण, नेपालको पर्यटन उद्योगलाई पुनर्जीवित गर्न राजनीतिक स्थायित्व, शान्ति–सुरक्षा, योजनाबद्ध पूर्वाधार र गुणस्तरीय सेवा–सुविधा अत्यावश्यक शर्तका रूपमा देखिन्छ । अन्यथा, नेपाल अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझ चुनौतीपूर्ण अवस्थामा पर्न सक्ने प्रष्ट देखिन्छ ।
ठमेलको पूरानै शाख फर्काउन के गर्न सकिन्छ । तपाइँको सुझाब के छ ?
हालको राजनीतिक तथा सामाजिक परिस्थितिले नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक प्रभाव पारे पनि ठमेल अझै पनि विदेशी पर्यटकका लागि सुरक्षित, आकर्षक र सक्रिय गन्तव्यको रूपमा रहँदै आएको छ । ठमेललाई दिगो बनाउन र यसको पुरानो पहिचानलाई जोगाइराख्न अहिले संयुक्त प्रयास अपरिहार्य देखिएको छ ।
ठमेललाई पुनर्जीवित गर्न तीनवटा महत्वपूर्ण सन्देश स्पष्ट रुपमा प्रवाह गर्न आवश्यक छ । पहिलो, ठमेल सुरक्षित छ र मर्यादित तरिकाले संचालन भइरहेको छ । दोस्रो, ठमेलको सांस्कृतिक तथा ऐतिहासिक पहिचान यथावत् छ र यहाँका कला, संस्कृति र सभ्यता अझै ज्यूँकात्यूँ छन् । तेस्रो, ठमेलका व्यवसायीहरू पर्यटकलाई आवश्यक सेवा र सुविधा दिन पूर्ण रूपमा तयार छन् ।
यस सन्देशलाई प्रभावकारी बनाउन मिडियाले सकारात्मक भूमिका खेल्नु पर्छ । साथै, स्थानीयवासी, घरधनी तथा पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएका सबै पक्षले एकजुट भएर ठमेललाई पुनः आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
ठमेल केवल नेपालको मात्र नभई विश्व पर्यटन नक्सामा एउटा विशेष पहिचान बोकेको क्षेत्र हो । त्यसैले यसको विश्वसनीयता र आकर्षण जोगाउन साझा प्रतिबद्धता र सहकार्य आवश्यक छ ।
जेनजी आन्दोलन पश्चात समग्र पर्यटन क्षेत्रमा परेको प्रभावबाट माथि उठ्न सरकार र निजी क्षेत्रले के गर्नुपर्छ ?
हालको राजनीतिक तरलताले नेपालको पर्यटन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारेको छ । ठोस राजनीतिक निर्णय र सबै दलहरूको साझा प्रतिबद्धता बिना मुलुक कुन दिशामा जान्छ भन्ने अनिश्चितताले व्यवसायीहरू मात्र होइन, पर्यटकहरू समेत सशंकित बनेका छन् ।
विशेषगरी ठमेल जस्ता पर्यटककेन्द्रित क्षेत्रमा आन्दोलन र असुरक्षाको वातावरणले सीधै असर पारेको छ । पर्यटकहरूको पहिलो प्राथमिकता शान्ति–सुरक्षा भएकाले, कुनै पनि बेला हड्ताल वा बन्द हुने आशंकाले उनीहरूको भ्रमण योजनामा ठूलो हानि पुर्याउँछ । यससँगै विदेशी दूतावासमार्फत प्रवाहित हुने नकारात्मक सन्देशले नेपालको पर्यटकीय छविलाई थप कमजोर बनाइरहेको छ ।
पर्यटन व्यवसायीहरूको भनाइमा, सरकारले अहिले दुईवटा कामलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । पहिलो, राजनीतिक दलहरूबीच संवाद र सहकार्यमार्फत राजनीतिक डेडलकलाई तत्काल अन्त्य गरी स्थायित्वको वातावरण निर्माण गर्नुपर्नेछ । दोस्रो, पर्यटन व्यवसायीहरूलाई केही मात्रामा भए पनि सहुलियत र प्रोत्साहन उपलब्ध गराउन जरुरी छ । अहिले दशैं जस्ता ठूला पर्व नजिकिँदा धेरै होटल, रेस्टुरेन्ट र अन्य व्यवसायीहरू आफ्ना कर्मचारीलाई तलब–सुविधा दिन असमर्थ भएका छन्। व्यवसायीहरू टिक्न नसके रोजगारी गुम्ने मात्र होइन, विदेशी पलायन समेत बढ्ने सम्भावना देखिन्छ ।
पर्यटन क्षेत्रबाट आउने प्रभाव केवल प्रत्यक्ष आम्दानीमा सीमित हुँदैन । एक पर्यटक होटलमा बस्छ, रेस्टुरेन्टमा खान्छ, स्थानीय उत्पादन किन्छ, ट्रेकिङमा जान्छ र गाउँसम्मको अर्थतन्त्रलाई चलायमान बनाउँछ । यसरी हेर्दा पर्यटन क्षेत्रले मल्टिपल इफेक्टसहित समग्र समाजलाई गतिशील बनाउने काम गर्छ । साथै, नेपाल घुम्न आएका विदेशीहरू आफ्नै मुलुक फर्केपछि नेपालको सकारात्मक वा नकारात्मक सन्देश विश्वमा पुर्याउने ‘अनौपचारिक दूत’का रूपमा पनि काम गर्छन् ।
यस सन्दर्भमा श्रीलंकाको उदाहरण उल्लेखनीय देखिन्छ । आर्थिक तथा राजनीतिक संकटपछि त्यहाँ सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर पुनर्जीवन दिन प्रयास ग¥यो। परिणामस्वरूप पर्यटनले मात्र अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सहयोग गरेन, सामाजिक र राजनीतिक स्थायित्वमा पनि योगदान दियो । नेपालले पनि त्यस्तै मोडेलबाट प्रेरणा लिनुपर्ने व्यवसायीहरूको धारणा छ ।
हाल ठमेल पर्यटन विकास परिषदमा करिब १,८९० व्यवसायी दर्ता छन् भने समग्रमा ५,५०० भन्दा बढी पर्यटनसम्बन्धी सेवा प्रदायक यहाँ सक्रिय छन् । होटल, ट्राभल, ट्रेकिङ, कार्गो, क्युरियोदेखि अन्य धेरै क्षेत्रमा संलग्न यी व्यवसायीहरूले मुलुकभर पाउने वस्तु तथा सेवाहरू ठमेलभित्रै पर्यटकलाई उपलब्ध गराउँदै आएका छन् ।
प्रतिक्रिया