Logo

समाचार

ललितपुर–१ बाट सनोज महतको स्वतन्त्र उम्मेदवारी, कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकार मुख्य एजेण्डा



काठमाडौं । सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् ।

नागरिक पहिलो अभियानका अभियान्ता समेत रहेका महतले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।

पछिल्लो समयमा ‘दलतन्त्र नै लोकतन्त्र हो भनेर पार्टी नेताहरुले लाोकतन्त्रको नाममा दलतन्त्र र नेता तन्त्र थोपरेको’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएको जिकिर उनले गरेका छन् । नेता र नेताहरुका आसेपासेले देशलाई भ्रष्टाचारको आहाल बनाएकोले जेन्जीहरुको आन्दोलनको विष्फोट भएको बताउँदै जेन्जीको मागलाई आफूले समर्थन गरेकोसमेत महतले बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले आफूलाई आगामी निर्वाचनमा जनताले जिताए भ्रष्टाचारीलाई निर्मम कारवाही, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, गैरदलीय स्थानीय तहको आवश्यक एजेण्डालाई कार्यान्वयन गर्न पहल गर्ने उद्घोष गरेका छन् ।

महत लड्ने ललितपुर क्षेत्र नम्बर १ राजधानी काठमाडौंसँगै जोडिए पनि आजको समयमा पनि दुर्गमको अवस्थामा गुज्रिरहेकाले दक्षिण ललितपुरका तीनवटा पालिकालाई अलग निर्वाचन क्षेत्र कायम गर्न पहल गर्ने । सो क्षेत्रमा रहेका प्राकृतिक स्रोत र साधनलाई स्थानीय जनताको हितका लागि अधिकतम प्रयोगको लागि पहल गर्ने बताउँदै महतले भने,“क्षेत्र नम्बर १ मा सञ्चालित खानी तथा क्रसरहरुलाई व्यवस्थित गर्दै अरबौं बराबरको राजश्व संकलन गर्नुपर्ने तर लेले, चापागाउँ, ठेचो, सुनाकोठीलगायतका पुरातात्वीक क्षेत्रहरुबाट क्रसरजन्य ढुवानीलाई पूर्ण त प्रतिबन्ध गर्दै करिडोरलाई व्यवस्थित गर्नु पर्छ ।”

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : ३१ बजे