काठमाडौं। प्यालेस्टिनी समूह हमासद्वारा अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिका प्रस्थान गरेका छन्।
सन् २०२३ को अक्टोबरमा इजरायल–हमास युद्धका क्रममा इजरायलको किब्बुज आलुमिमबाट अपहरणमा परेका विपिन हालसम्म बेपत्ता छन्। उनी कृषि तालिमका लागि इजरायल गएका थिए। घटनाको २४ महिना बितिसक्दा पनि उनको अवस्थाबारे स्पष्ट जानकारी नआएको भन्दै परिवारले संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्ने निर्णय गरेको हो।
पद्मा र पुष्पाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी विपिनको सकुशल रिहाइका लागि दबाब सिर्जना गर्न आग्रह गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि उनीहरूले इजरायल पुगेर सम्बन्धित निकायहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए, तर उल्लेखनीय प्रगति नदेखिएपछि अमेरिका प्रस्थान गरेका हुन्।
विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको जनाएको छ। यद्यपि अहिलेसम्म ठोस उपलब्धि हुन नसकेको जनाइएको छ।
यस पहलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग सक्रिय रूपमा रहेको छ। संघका अध्यक्ष डा. बद्री केसीसँगको भेटपछि प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका बसाइका लागि आवश्यक सहजीकरण प्रक्रिया अघि बढाएका हुन्। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरिका बसाइका क्रममा प्रत्यक्ष सहजीकरण गर्नेछ।
सहयोगको संयोजनमा क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिका अध्यक्ष बिकाश उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको भूमिका रहनेछ। इजरायलमा पनि एनआरएनए इजरायलले विशेष कार्यक्रम गरी जोशी परिवारलाई समर्थन जनाइसकेको छ।
मध्यपूर्वका मुस्लिम राष्ट्रहरूमा समेत कूटनीतिक पहल जारी राख्ने तयारी एनआरएनएमार्फत भइरहेको जनाइएको छ।
प्रतिक्रिया