Logo

कर्णाली प्रदेश

जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण



सुर्खेत । जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् ।

आर्थिक बर्ष २०७५÷०७६ बाट कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममार्फत आर्थिक वर्ष २०८०÷८१ मा ३६ र  २०८१÷८२ मा ३६ विपन्न परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।

जुम्लामा हालसम्म दुई सय आठ घर निर्माण गरिएको पूर्वाधार बिकास कार्यालयका नायब सुब्बा धर्मराज रावलले बताए । निर्माण सम्पन्न भएका मध्ये १८ घर हस्तान्तरण हुन बाँकी रहेको उनले बताए ।

प्रत्येक घर तीन लाख ३३ हजार छ सय रुपियाँको लागतमा निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्राविधिक हेमन्त न्यौपानेले जानकारी दिए । हरेक घरमा दुई कोठा, बिचमा कोलिया र शौचालयको व्यवस्था रहेको छ । जनता आवास कार्यक्रमले घरबारविहीन परिवारलाई राहत पुगेको छ ।

हुम्लामा कर्णाली प्रदेश सरकारको बजेटमा ४० वटा घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । एक करोड ६० लाख बजेटको लागतमा निर्माण भएका घरहरु पूर्वाधार विकास कार्यालय हुम्लाले सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरेको प्रमुख नरेशराज जैशीले जानकारी दिए ।

‘विपन्न परिवारका लागि २० र दलित परिवारका लागि २० घर गरी अघिल्लो आर्थिक बर्षमा निर्माण गरिएका ४० घर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ’ उनले भने ।

जुम्लाको गुठीचौर गाउँपालिका–५, देपालगाउँका धनसिंह सार्कीले सरकारले बनाएको नयाँ घरमा बस्न पउँदा खुशी लागेको बताए ।

‘सरकारको कार्यक्रम अन्तर्गत नयाँ घरमा बस्न पाउँदा खुशी लागेको छ’ उनले भने, ‘गरिब र दलितका लागि सरकार भएको अनुभुती भएको छ ।’ घरबारविहीन अन्य विपन्न र दलितका लागि पनि सरकारले आवासको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ५१ बजे