Logo

मुख्य समाचार

सिंहदरबार सुनसान, आगजनीले प्रशासनिक कामकाज प्रभावित


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर सुनसान बनेको छ। नियमित रूपमा भीडभाड हुने प्रवेशद्वारहरू शुक्रबार अपराह्न ३ बजे पनि सवारीसाधनविहीन देखिएका थिए।

आगजनीका कारण विभिन्न मन्त्रालयका भवन र सवारीसाधन क्षतिग्रस्त भएका छन्। कर्मचारीहरूले कार्यालय ध्वस्त भएपछि त्रास र निराशाको अवस्था रहेको बताएका छन्। मन्त्रालयहरूमा जलेका भवन र सवारीसाधनको भग्नावशेष देख्दा मन कुँडिएको उनीहरूको गुनासो छ।

शिक्षा मन्त्रालय परिसरमा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएको छ। प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा संकलन गर्न कठिन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ। कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप र कागजात सार्न व्यस्त देखिएका छन्। सिंहदरबार पश्चिम खण्डमा चार दिनदेखि धुवाँ निस्किरहेको छ भने वारुणयन्त्रले निरन्तर पानी हानिरहेको छ।

गृह मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रालय ध्वस्त भएकाले उपस्थिती मात्र लिएर फर्किनुपरेको छ। हाल क्षतिको पहिचान, विवरण संकलन र तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आगजनीबाट क्षतिग्रस्त भएको छ। सचिव डा. विकास देवकोटाले भवन नष्ट भएकाले ‘भर्चुअल’ माध्यमबाट काम प्रारम्भ गरिएको जानकारी दिएका छन्।

आगजनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति पुर्‍याएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : १६ बजे