Logo

समाचार

असोज १ देखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू



काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक अभिलेख (दर्ता) तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ। विभागले मंगलबार सूचना प्रकाशित गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

विभागका अनुसार प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिबारे व्यवस्थित अभिलेख राखिनेछ। यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चित गर्न सजिलो हुने विश्वास लिइएको छ।

अध्यागमन विभागले सूचनामा भनेको छ, “सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार विदेशी नागरिकको प्रवेश, उपस्थिति र प्रस्थान नियमन गर्ने जिम्मेवारी विभागको हो।

नयाँ प्रणाली पहिलो चरणमा २०८२ असोज १ देखि काठमाडौं उपत्यकाभित्रका तारे होटेलहरूमा अनिवार्य हुने विभागले जनाएको छ। दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटेल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स, मनी एक्सचेञ्जरलगायत क्षेत्रमा लागू गरिनेछ। क्रमशः गेष्ट हाउस, होटेल तथा अन्य सार्वजनिक–निजी सेवामा पनि विस्तार गरिने विभागले जनाएको छ।

विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ। दर्ता प्रक्रिया र म्यानुअल विभागको आधिकारिक वेबसाइट www.immigration.gov.np मा उपलब्ध हुने बताइएको छ।

अनुगमनका लागि ७७ वटै जिल्लामा जिल्ला अनुगमन समिति गठन गरी पत्राचार गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : १५ बजे