Logo

मुख्य समाचार

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा सप्ताहव्यापी रूपमा सुरु



कञ्चनपुर । नेपालमा १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आजदेखि विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी रूपमा मनाउन सुरु गरिएको छ। नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा सेप्टेम्बर १ देखि ७ सम्म देशभर जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने कार्यक्रम छ।

विसिएनका चरा विज्ञ हिरुलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीस्थित वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पंछी संरक्षण सङ्घ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एशोसिएशनको सहकार्यमा संरक्षण शिक्षासम्बन्धी गतिविधि सञ्चालन हुँदैछ। साथै, सेप्टेम्बर ६ सम्म स्थानीय स्वयंसेवकहरूको सहयोगमा प्रदेशभर गिद्ध गणना हुने उनले जानकारी दिए।

हाल सुदूरपश्चिम प्रदेशमा नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजाति गिद्ध रहेका छन्। गिद्धलाई “प्रकृतिको कुचीकार” मानिन्छ, किनभने मरेका जनावरको सिनो खाने यस चराबाट वातावरण सफा रहन्छ र हैजा, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता रोग फैलिन रोकिन्छन्।

तर पछिल्ला वर्षहरूमा गिद्धको सङ्ख्या तीव्र रूपमा घटेको छ। वैज्ञानिक अध्ययनअनुसार पशुमा प्रयोग हुने दर्दनिवारक औषधि डाइक्लोफेनेक गिद्ध मृत्युको प्रमुख कारण बनेको छ। यस्तै, एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड, कारप्रोफेनफ्लुनिक्सिन जस्ता औषधिले समेत गिद्धको अस्तित्वलाई खतरामा पारेका छन्। साथै, विषादी प्रयोग, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने घटना, डढेलो, पहिरो र आँधीबेहरीले गिद्धको आहारा र आवास दुवै सङ्कुचित भएको तथ्याङ्कले देखाएको छ।

नेपालमा पाइने डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्धलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN) ले ‘अति सङ्कटापन्न’ श्रेणीमा राखेको छ। गोब्रे गिद्ध ‘दुर्लभ’ सूचिमा परेका छन् भने राज गिद्ध र खैरो गिद्ध हिउँदयाममा नेपाल आउने पाहुना प्रजाति हुन्। हिमाली गिद्ध भने रैथाने भए पनि मुख्यतः जाडोमा तराई क्षेत्रमा देखिन्छ।

गिद्ध संरक्षण दिवस पहिलोपटक सन् २००५ मा अफ्रिकामा राष्ट्रिय सचेतना दिवसका रूपमा मनाउन थालिएको थियो। सन् २००९ देखि यसलाई ‘अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस’ को रूपमा विश्वव्यापी विस्तार गरिएको हो। दिवसको उद्देश्य गिद्धको घट्दो सङ्ख्या, संरक्षण प्रयास, चुनौती र यसको आवश्यकता बारे आमनागरिकमा सचेतना बढाउनु रहेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ४४ बजे