Logo

समाचार

घिसिङ : नेपालसँग क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर



लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको बताएका छन्। तर त्यसका लागि सही नीति र सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ छ

दक्षिण–पूर्वी लन्डनमा आयोजित ‘नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक छलफलमा घिसिङले करिब एक दशकअघि नेपालले दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोगेको तर संस्थागत सुधार र दक्ष ऊर्जा व्यवस्थापनका कारण समस्या अन्त्य भएको बताए।

उनका अनुसार विद्युत् पहुँच ५६ प्रतिशतबाट झन्डै शतप्रतिशत पुगेको छ भने प्राधिकरण घाटाबाट नाफामा पुगेको छ। “यही कारण प्रसारण र उत्पादनमा पुनःलगानी सम्भव भएको छ,” उनले बताए। हाल नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको र उत्पादन लगभग शतप्रतिशत स्वच्छ तथा नवीकरणीय स्रोतमा आधारित भएको उनको भनाइ थियो।

घिसिङले नेपालमा जलविद्युत् यात्रा ब्रिटिस सहयोगमै १९११ को फर्पिङ र १९३९ को सुन्दरी जल आयोजनाबाट सुरु भएको स्मरण गर्दै हाल ३,८०० मेगावाटभन्दा बढी क्षमता स्थापित भइसकेको र हजारौँ मेगावाट आयोजनाहरू निर्माणाधीन रहेको जानकारी दिए। उनले २०३५ सम्ममा २८,५०० मेगावाट लक्ष्य राखिएको उल्लेख गर्दै त्यस मध्ये १५,००० मेगावाट निर्यातका लागि छुट्याउने योजना रहेको बताए।

भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको, बङ्गलादेशमा निर्यात सुरु भइसकेको र भुटानसहित क्षेत्रीय ऊर्जा मार्ग विस्तार हुँदै गएको उनले बताए। चीनसँग भविष्यमा जोडिने सम्भावना पनि रहेको उनको भनाइ थियो।

“भारत र बङ्गलादेशलाई स्थिर र स्वच्छ बिजुली आवश्यक छ। यो नै नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर हो,” घिसिङले भने। उनका अनुसार नेपालले हरित हाइड्रोजनलाई औद्योगिक प्रयोगका लागि ऊर्जा स्रोतको रूपमा अध्ययन गरिरहेको छ।

घिसिङले जलवायु परिवर्तनको चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको उल्लेख गरे। उनले आफ्नो कार्यकाल चार महिना बाँकी रहँदै पदबाट हटाइएको घटनालाई राजनीतिक अस्थिरता र जवाफदेहिताको कमीको उदाहरण भएको बताए।

“नेपालका युवाहरू परिणाम चाहन्छन्, परिणाम दिने नेतृत्व चाहन्छन्,” उनले भनाइ थप्दै ‘उज्यालो नेपाल अभियान’ मार्फत आफ्नो यात्रा निरन्तर भइरहेको बताए।

कार्यक्रममा युसीएल इन्स्टिच्युट अफ एजुकेशनका प्राध्यापक डा. तेजेन्द्र फेरालीले लोडसेडिङ अन्त्य गर्न घिसिङको योगदानको प्रशंसा गरे। सो अवसरमा ७७ वर्षीय विश्व चेस ग्र्याण्ड मास्टर रेमण्ड कीनले घिसिङलाई सम्मानपत्र र टोनी बुजन मेडल प्रदान गरे।

कार्यक्रममा लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ता हकले मन्तव्य राखेका थिए भने पानस हेल्पिङ ह्यान्डका सुजन कटुवालले धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १ : ०३ बजे