काठमाडौं । देशका केही भागमा आज दिउँसो भारी वर्षा र तराईका कतिपय स्थानमा हावाहुरी हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। गण्डकी, सुदूरपश्चिम र देशका अन्य पहाडी भूभागसहित तराईका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मधेस प्रदेश, कोसी प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि चेतावनी दिएको छ।
आज राति मधेस, कोसीसहितका पहाडी भूभागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया