कैलाली । कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरी अझै कारागारभित्र प्रवेश गर्न सकेको छैन। कारागार अझै कैदीबन्दीको नियन्त्रणमै छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र मानव अधिकारकर्मी, सुरक्षाकर्मी तथा जिल्ला प्रशासनको टोली भित्र जाने तयारी भइरहेको छ। प्रहरी र कैदीबन्दीबीच कुराकानी भइसकेको र मानव अधिकार आयोगको टोली निरीक्षणका लागि जान लागेको उनले बताए।
गत शुक्रबार ब्लक ‘ए’ का कैदीबन्दीले भित्ताफुटाएर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो। घटनामा ४९ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रशासनले जनाएको छ।
घटनापछि कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका थिए। साउन १४ गते नै कैदीबन्दीहरूले कारागारभित्रको असुरक्षित अवस्थाबारे मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया