Logo

विश्व

युनाइटेड एयरलाइन्सका उडानहरू अचानक स्थगित, हजारौं यात्रु प्रभावित


२२ श्रावण २०८२, बिहिबार  

46
Shares

काठमाडौं । अमेरिकाको युनाइटेड एयरलाइन्सले बुधबार प्राविधिक समस्याका कारण आफ्ना प्रमुख उडानहरू आकस्मिक रूपमा स्थगित गरेको छ। यस घटनाले हजारौं यात्रुहरू अलपत्र परेका छन्।

कम्पनीले जारी गरेको विज्ञप्तिमा प्राविधिक समस्या देखिएपछि प्रारम्भिक रूपमा सबै प्रस्थान विमानस्थलबाट उडानहरू रोकिएको उल्लेख गरिएको छ। “यात्रीहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। हामी उनीहरूलाई गन्तव्यमा पुर्‍याउन सक्दो प्रयास गर्दैछौं,” विज्ञप्तिमा भनिएको छ।

संघीय उड्डयन प्रशासन (एफएए)ले पनि युनाइटेड एयरलाइन्सका उडानहरूलाई अस्थायी रूपमा रोक्न आदेश दिएको छ। डेनभर, नेवार्क, ह्युस्टन र सिकागोजस्ता प्रमुख विमानस्थलहरूमा यो रोक लागू गरिएको हो।

यसअघि पनि अमेरिकाको उड्डयन क्षेत्रमा प्राविधिक समस्या देखिएको थियो। गएको महिना अलास्का एयरलाइन्सका उडानहरू घण्टौं ढिलाइ भएका थिए। यस्तै, नेवार्क विमानस्थलमा पनि यस वर्ष हवाई यातायात नियन्त्रण प्रणालीमा पटक–पटक समस्या देखिएको छ। गत जनवरीमा वासिङटननजिकै एक यात्री विमान र सैन्य हेलिकोप्टर ठोक्किँदा दर्जनौंको मृत्यु भएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ११ : ४४ बजे