काठमाडौं। नेपालको चाउचाउ बजारमा ४५ वर्षदेखि अग्रता जमाइरहेको वाइवाइ ब्रान्डले आर्थिक वर्ष २०८१/८२ मा १५ प्रतिशत वृद्धिदर हासिल गरेको छ। उत्पादनकर्ता कम्पनी सीजी फुड्सका अनुसार वाइवाइको बजार हिस्सा हाल ६० प्रतिशतभन्दा बढी पुगेको छ।
कम्पनीका अनुसार विशेषगरी २० रुपैयाँ मूल्यको चाउचाउ श्रेणीमा वाइवाइको हिस्सा झन्डै ७० प्रतिशत रहेको छ। हाल वाइवाइ ब्रान्डअन्तर्गत नेपालमा वार्षिक करिब एक अर्ब प्याकेट चाउचाउ उत्पादन भइरहेको छ, जबकि विश्वभर यसको उत्पादन संख्या चार अर्ब प्याकेट पुगेको कम्पनीले जनाएको छ।
सीईओ प्रदीप पुडासैनीले वाइवाइले नियमित रूपमा नयाँ स्वाद र श्रेणीका उत्पादनहरू बजारमा ल्याउँदै आएको उल्लेख गरे। हालै बजारमा प्रवेश गराएका ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्वीक स्पाइसी चिज’ उत्पादनहरू विशेषगरी युवावर्गमा लोकप्रिय भएको उनले बताए।
वाइवाइ हाल नेपालसहित भारत, बंगलादेश, सर्बिया, काजाकिस्तान र अफ्रिकालगायत देशहरूमा उत्पादन हुँदै आएको छ भने ४० भन्दा बढी देशमा बिक्री वितरण भइरहेको छ। कम्पनीका अनुसार वाइवाइ नेपालको पहिलो विश्वव्यापी ब्रान्डको रूपमा स्थापित भएको छ।
कम्पनीले सन् २०२८ भित्र भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने र विश्व बजारमा वार्षिक उत्पादन तथा बिक्री संख्या पाँच अर्ब प्याकेट पुर्याउने लक्ष्य लिएको जनाएको छ।
प्रतिक्रिया