काठमाडौं । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ ।
विभागले ८१४ वटा परीक्षण प्यारामिटरका लागि भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटरिज(एनएबीएल) बाट आइएसओ, आइसीइ १७०२५ः२०१७ अन्तर्राष्ट्रिय प्रत्यायन प्राप्त गरेको जनाएको छ ।
यसअघि सन् २०२४ सम्म २८६ वटा परीक्षण प्यारामिटरमा मात्र प्रत्यायन प्राप्त भएकोमा, यस वर्ष (२०८२) मा ६७२ वटा केमिकल र १४२ वटा माइक्रोबायोलोजिकल गरी कुल ८१४ वटा परीक्षण प्यारामिटरमा एक्रिडिटेशन क्षेत्र विस्तार गरिएको हो ।
भारतसँगको सहकार्यअन्तर्गत २०८१ चैत २२ गते (सन् २०२५ अप्रिल ४) मा एफएसएसएआइले नेपालबाट भारत निर्यात हुने खाद्य वस्तुका लागि डिएफटीक्यूसीद्वारा जारी सर्टिफिकेट र फुड सेफ्टी एन्ड क्वालिटी एक्सपोर्ट सर्टिफिकेटलाई औपचारिक मान्यता दिने निर्णय गरेको छ ।
पहिलो चरणमा भारतले जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारीहरूका परीक्षण प्रमाणपत्रलाई मान्यता दिने भएको हो ।
विभागले खाद्य प्रयोगशालाको एक्रिडिटेशनलाई अझ व्यापक बनाउँदै खाद्य एडिटिभ्स तथा कन्टामिनेण्ट्स परीक्षणका लागि पनि १२३ वटा कीटनाशक अवशेष, ११ वटा खाद्य रङ, ३ कृत्रिम गुलियो पदार्थ, ६ परिरक्षक, ४ प्रकारका भिटामिन, १९ धातु, ८ अफ्लाटक्सिनसहितका विश्लेषणात्मक प्यारामिटरसमेत थप गरेको छ ।
त्यसैगरी, विभाग अन्तर्गतको विराटनगरस्थित खाद्य प्रयोगशालाले पनि ९ प्रकारका खाद्य वस्तुका ४६ वटा परीक्षण प्यारामिटरमा एनएबीएलबाट एक्रिडिटेशन विस्तार गरेको छ ।
विश्व खाद्य स्वच्छता दिवस–२०२५ को अवसरमा विभागले ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित खाद्य प्रयोगशालाको अन्तर्राष्ट्रिय एक्रिडिटेशन र प्रयोगशाला सुदृढीकरणमार्फत विश्लेषण कार्यको विश्वसनीयता अभिवृद्धि गर्न सफल भएको जनाएको छ ।
विभागले भारतका लागि परीक्षण प्रतिवेदनको मान्यता सबै २२ प्रकारका खाद्य समूहमा विस्तार गर्न एफएसएसएआइसँग पत्राचार गरिसकेको र चाँडै नै औपचारिक आदेश जारी हुनेमा विश्वास व्यक्त गरेको छ ।
प्रवक्ता मोहन कृष्ण महर्जनद्वारा जारी प्रेस नोटमा विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले यस उपलब्धिमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पु¥याउने सबै सरकारी निकाय, सरोकारवाला र कर्मचारीलाई विशेष धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।
प्रतिक्रिया