काठमाडौं । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना सवार एक यात्रुबाहक विमान बेपत्ता भएको छ। अंगारा एयरलाइन्सको एन–२४ विमान खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको अवस्थामा सम्पर्कविहीन बनेको हो।
रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार, विमानमा पाँच बालबालिका र छ चालक दलसहित ४३ जना सवार थिए। रोयटर्सले आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै यात्रु संख्या करिब ४० रहेको जनाएको छ।
टिन्डा विमानस्थलमा अवतरण गर्ने दोस्रो प्रयासका क्रममा विमान हराएको जनाइएको छ। विमानले पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि पुनः प्रयास गर्दा सम्पर्कविहीन भएको हो।
तास समाचार एजेन्सीका अनुसार, विमान टिन्डा विमानस्थल नजिकैको एक चेकपोइन्टमा सम्पर्क गर्न असफल भयो। टिन्डा मस्कोबाट करिब ६ हजार ६ सय किलोमिटर पूर्वमा अवस्थित छ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत विमानको खोजीका लागि सबै स्रोत परिचालन गरिएको जानकारी दिएका छन्।
— इन्डिपेन्डेन्ट/एजेन्सी
प्रतिक्रिया