Logo

मुख्य समाचार

कर्णाली पुग्ने पर्यटकको संख्या बढ्यो, मानसरोवरका कारण भारतीय आकर्षित



सुर्खेत । कर्णाली प्रदेश पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार कर्णालीमा आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

आर्थिक बर्ष २०८१÷०८२ को पुस मसान्तसम्म कर्णालीमा महिनामा औसत झण्डै एक लाख पर्यटक कर्णालीमा भित्रिएको तथ्याङ्क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

गत आर्थिक बर्ष २०८१÷८२ को पुस मसान्तसम्म कर्णालीमा पाँच लाख ७९ हजार नौ सय ४३ पर्यटक कर्णाली आएका छन् । यो संख्या आर्थिक बर्ष २०८०÷०८१ को भन्दा ११ प्रतिशतले बढी हो ।

कर्णाली आएका पर्यटकमा भारतबाट १२ दशमलव ८२, चीनबाट तीन दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

कर्णाली प्रदेशका नमूना छनौटमा परेका होटलहरूबाट प्राप्त तथ्याङ्कको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषणका आधारमा राष्ट्र बैंकले यो तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय कर्णाली आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बढेको हो ।

पर्यटन व्यवसायको प्रचुर सम्भावना भएको कर्णालीमा सहज रुपमा हवाई तथा सडक यातायात, पर्यटकस्तरीय होटल तथा होमस्टेलगायत मनोरञ्जनात्मक क्रियाकलापहरुको उपयुक्त व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी औसत बसाई दर बढाउन चुनौतीपूर्ण भएको राष्ट्र बैंकको ठहर छ ।

कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिन्जा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । यी पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका हुन ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : २९ बजे