काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेटगरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरवाही भएको, कर्मचारीका मागहरु बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गरेका हुन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरुको पटकपटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारी उद्योग कलकारखानाहरुको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिंदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए ।
छलफलमा हेटौंडा सिमेन्टको समाचारमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम समेत सहभागी थिए ।
प्रतिक्रिया