काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित निलबाराही मन्दिर धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ । काठमाडौं उपत्यकामा चार बाराहीमध्ये सबैभन्दा महत्वपूर्ण धार्मिक स्थलका रूपमा पनि यस मन्दिरलाई चिनिने गरेको पाइन्छ ।
मन्दिर क्षेत्र, सांस्कृतिक र पर्यावरणीय हिसाबले अति संवेदनशील मानिएको मन्दिर एक दशकदेखि पहिरोको उच्च जोखिममा छ । वर्षा सुरु भएलगत्तै मन्दिर परिसरमा पहिरो पहिरो जाँदा वर्षेनी जोखिम बढ्दो छ । मन्दिरको दक्षिण–पश्चिम क्षेत्रमा पहिरो बढ्दै जाँदा बाटो साँघुरिएको छ भने यसले सवारीसाधन आवात–जावतमा समेत प्रभाव पारेको छ ।
एक दशकसम्म पनि पहिरो रोकथामका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ठोस पहल नगरेपछि अहिले स्थानीयहरुले श्रमदान गरेर पहिरो नियन्त्रणको काम गरिरहेका छन् । गत जेष्ठ ३ गतेदेखि निलबाराही क्षेत्र संरक्षण सरोकार समिति गठन गरेर हरेक हप्ता शनिबारलाई श्रमबार भनेर घोषणा गर्दै सुरु भएको अभियानको नवौं हप्ता पूरा भएको छ ।
स्थानीय, प्रदेश र केन्द्र सरकारलगायतका निकायले बेवास्ता गरेपछि धरानका मेयर हर्क साङपाङले अभियानका रुपमा चलाएको श्रमदान निलबाराही क्षेत्रमा नवौं हप्तादेखि गर्दै आइरहेको समितिका सचिव अनिश वैद्य बताउँछन् ।
उनले भने, ‘निलबाहारी क्षेत्र संरक्षण गर्ने हिसावले अभियान गरेका हौं । विगत एक दशक यता यस क्षेत्रमा भूक्षयले मन्दिर नै खस्न लाग्यो । स्थानीय सरकारर केन्द्र सरकार लगायतका निकायहरुले वास्ता नगरेपछि हामी जनस्तरबाटै गरौं भनेर सुरु गरेका छौ । हामीले जन सरोकार समिति काम गरिरहेका छौं । पछिल्लो चरण धरानका मेयर हर्क साङपाङले गरेको श्रमदानबाट प्रेरणा लिएर पुर्खाले दिएको संस्कृतिलाई जोगाउन अभियान सुरु गरेका हौं ।’
उनका अनुसार मन्दिरको एउटा मात्र पहिरो होइन मन्दिर परिसरको १३ वटा पहिरो रोकथाम गर्नुपर्ने छ । जसमध्य पाँचवटा पहिरो रोकथाम गरी ३० प्रतिशत कार्य सम्पन्न भएको छ ।
‘जेष्ठ ३ गतेदेखि श्रमदान भनेर सुरु गरेका हौं । हरेक हप्ता शनिबारलाई श्रमबार भनेर घोषणा गरेर सुरु गरेका छौं । अब आउने हप्तादेखि हप्ताको तीन दिन सोमबार बुधबार र शनिबार श्रम दान गर्नेछौं । एउटा मात्र पहिरो रोक्न मन्दिर परिसरको १३ वटा पहिरो रोकथाम गर्नुपर्ने हुन्छ । अहिलेसम्म पाँचौं भूक्षयको ठाउँमा माटो फिलिङ गर्ने काम भइरहेको छ । अहिलेसम्मे लगभग ३० प्रतिशत काम सम्पन्न भएको छ ।’
अभियानको नवौं हप्ता पुग्दा पनि पहिरो नियन्त्रणमा नगरपालिका प्रशासनको भूमिका कमजोर देखिएको छ । सचिव वैद्यका अनुसार मन्दिर परिसर वन उपभोक्ता समिति अन्तर्गत भएपनि उपभोक्ता समिति आफैं अव्यवस्थित अवस्थामा रहेको छ ।
उनले भने, ‘हामीले स्थानीय सरकरसँग पहिलेदेखि नै कुरा राख्दै आएका हौं । २०७६ सालदेखि नै भनिरहेका छौं र उहाँहरुले यो वर्षचाँही गर्छौ भन्दाभन्दै बर्षौ विताउनुभयो तर गर्नुभएन । टार्नेकाम मात्र भयो । हामीले यो काम माघमा नै गर्ने भनेको थियौं उहाँहरुले टार्दै बैशाखसम्म ल्याइपुर्याएपछि समिति बनाएर काम सुरु गर्यौं । दुःखको कुरा आजसम्म पनि स्थानीय र केन्द्रीय सरकारले सहकार्यको कुनै पनि पहल गरेको छैन् । यो वन उपभोक्ता समिति अन्तर्गत रहेछ । तर त्यो पनि उपभोक्ता समिति पनि लथालिङ्ग छ ।’
सुरुमा आफ्नो खल्तीबाट पैसा हालेर समितिले अभियान सुरु गरेको थियो, तर नवौं हप्तासम्म आइपुग्दा ७७ लाखको उल्लेखनीय आर्थिक संकलन भइसकेको छ ।
अधिंकाश अत्यावश्यक सामग्रीहरु सहयोगको रुपमा आउने गर्दछन् । ढुवानी र केही किन्नैपर्ने सामग्रीमा मात्र खर्च हुने गरेको उनले जानकारी दिए । त्यस्तै यही फागुनभित्रमा निर्माण सम्पन्नगरी जात्रा चलाउने उद्देश्य रहेको उनी बताउँछन् ।
उनले भने, ‘सुरुमा जनसरोकार समितिबाट हामीले आफ्नो गोजीबाट जति सक्छौ नगद दान गरेका थियौ । हाम्रो संकलन ७७ लाख भएको छ । ५०÷५५ लाख हामीसँग जगेर्ना छ । अहिले बढि खर्च माटोमा छ, १८ वटा गाडीले माटो ओसारी रहेको छ । बाँस, बोराहरु, औजारहरु किनेका छैनौ । अनुदानकै रुपमा आएको छ । हाम्रो इन्धन र गाडी भाडाहरु बाहेक अन्त खर्च भएको छैन । हाम्रो उद्देश्य भनेको यो मन्दिरको आवातजावतको वास्तविक बाटोमा पहिरो गएको छ त्यसलाई यही फागुनभित्रमा निर्माण गरी जात्रा चलाउने लक्ष्य छ ।’
श्रमदाताहरुको उपस्थिति पनि उत्साहजनक नै छ । धेरै जस्तो श्रमदाता भक्तपुरकै रहेका छन् भने, केही ललितपुर र काठमाडौंबाट पनि श्रमदानका लागि पुगेका छन् ।
बिहान ५ बजेदेखि आएर श्रमदानमा जुटेकी हेमा प्रजापति मन्दिर परिसरभित्र आवत–जावत गर्ने बाटोको जोखिम देखेपछि श्रमदानमा आएको बताउँछिन् । निलबाराहीको बाटो संरक्षणको निम्ति सबैले एकजुट भएर श्रमदान गर्न आव्हान समेत गरिन् ।
यस्तै, अर्का स्थानीय लछिनाथ थाले हरेक हप्ता गएर श्रमदान गरिरहेका छन् । उनले पहिरो गएका कारण मन्दिर नै भत्किने अवस्था आउँदा धेरै चोटि नगरपालिकामा निर्माणको लागि निवेदन पेस गरेको तर हरेक वर्ष बजेटचाहिँ आउने तर काम नभएको आरोप लगाए ।
उनले भने, ‘साप्ताहिक श्रमदानमा सहभागी हुन आएको हो । हरेक हप्ता आइरहेका छौं । नवौं हप्ता भइसक्यो । सुरु देखिनै सहभागी भएका थियौँ । पहिरो गएका कारण मन्दिर नै भत्किने जस्तो अवस्था आयो । धेरै पटक नगरपालिकालाई निवेदन पेस गर्यौ ।’
उनले जिब्रो छेड्ने जात्रा र निलबाराही गण नाच यी दुबै जात्रा निलबाराहीबाट सिर्जना भएको कारण पनि संरक्षण गर्नु आवश्यक रहेको धारणा राखे ।
‘जिब्रो छेड्ने जात्रा र निलबाराही गण नाच यी दुबै जात्रा यहिँबाट सिर्जना भएको हो । त्यसै कारणले यो ठाँउको माया लाग्ने भएकाले पनि संरक्षण गर्नुपर्छ जस्तो लाग्छ । मन्दिरलाई धा बाराही भनेर पनि चिनिने गरेको छ । रोकिएका कामहरु छन् भने यहाँ आएर माग्दा पूरा हुने विश्वास छ,’ उनले भने ।
त्यस्तै, श्रमदाताहरुलाई सेवा दिने उद्देश्यले विनायक स्कुलको स्काउटका विद्यार्थी संग्लन गराउने, आफ्नो वरिपरीका वस्तुहरुको कसरी संरक्षण गर्ने मात्रै नभई राष्ट्रको संरक्षण कसरी गर्ने भन्ने शिक्षा दिनको लागि विद्यार्थीलाई समेत सहभागी गराएको शिक्षिका सानु चक्र रर्ले जानकारी दिइन् ।
उनले भनिन्, ‘निलबाराही मन्दिरमा श्रमदान गर्न आएका छौँ । विनायक स्कुलका स्काउटका विद्यार्थीले पनि सकेको सहयोग गरिरहेका छन् । सबैजनालाई आएर सहयोग गरिदिनु हुन आग्रह गर्दछु । स्काउटका विद्यार्थीहरुले पनि पानीहरु दिएर, डोरीहरु काटिदिने जस्ता काम गरेर सहयोग गरिरहेका छन् । सामाजिक कार्यहरुमा कसरी संग्लन गराउने, आफ्नो वरिपरि रहेका वस्तुहरुको कसरी संरक्षण गर्ने मात्रै नभई राष्ट्रको संरक्षण गर्ने भनेर सिकाउनका लागि विद्यार्थीहरु लिएर आएको हो ।’
यसैगरी विनायक स्कुलको कक्षा ६ मा अध्ययनरत स्काउटका विद्यार्थी सुभान श्रेष्ठले यस्तो सामाजिक कार्यमा आफूले सक्ने सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।
त्यस्तै कक्षा ८ मा अध्ययनरत विद्यार्थी साना श्रेष्ठले पनि श्रमदानमा भोलेन्टियरिङ्ग गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
पुरातात्वविक हिसावले २४ सय वर्ष पुरानो मन्दिर, निलबाराहीमा वर्षको दुई पटक खट बोकेर जात्रा निकालिन्छ र विस्केट जात्रा हुन्छ । त्यस्तै बोडेको जिब्रो छेड्ने जात्रा यही जंगलसँग सम्बन्धित छ । यहाँको देवता चोरेर जाँदा सजाय पाएको रुपमा जिब्रो छेड्ने गरिन्छ ।
पुरातात्विक, धार्मिक, सांस्कृतिक, वातावरणीय महत्व भएको यो ठाउँको संरक्षण सरकारको व्यवासता साच्चीकै लज्जास्जद् छ । जनस्तरमा चासो देखिएको छ तर जति बेबारिसे परिसर छ त्यसको संरक्षणको यही पर्याप्त होइन्, त्यसैले यसको संरक्षणमा स्थानीय निकाय वा सरोकारवालाहरुको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया