Logo

Breaking News 1

‘सानो घर, ठूलो सपना’ : हेल्प नेपाल बालगृहका बालिकाहरूको मनछुने कथा



धुलिखेल(काभ्रे) । काभ्रेको हरियाली डाँडामुनि अवस्थित एक सानो घर, जहाँ आशा फुल्दैछन्, जहाँ भविष्य निर्माण भइरहेको छ । यो घर कुनै सामान्य आवास मात्र होइन, यो हो एउटा ममता र सम्भावनाले भरिएको बालगृह हो । जहाँ २४ जना बालिकाहरुले आफ्नो जीवनलाई नयाँ दिशा दिइरहेका छन् ।

बालगृहको स्थापना हेल्प नेपाल नेटवर्कले गरेको हो । २०७१ साल भदौ ८ गतेबाट तत्कालिन १० जना बालिकाहरुबाट यो संस्था सञ्चालन हुँदै आएकोमा अहिले २४ जनालाई नयाँ दिशा दिइरहेको छ ।

देश–विदेशमा रहेका नेपालीहरुको सानो–सानो योगदानबाट बनेको संस्थाले, यी बालिकाहरुको भविष्य उज्यालो बनाउने ठूलो काम गरिरहेको छ । काभ्रेको बालगृह स्थापना गर्नुको मूल उद्देश्य थियो । ती बालिकाहरुका लागि सुरक्षित आश्रय प्रदान गर्नु, जो विभिन्न कारणले आफ्नो घर र परिवार गुमाइसकेका छन् ।

बालगृहमा २४ जना बालिकाहरु बसोबास गरिरहेका छन् । तिनको आवास, शिक्षा, स्वास्थ्य, पोषण र मनोरञ्जनको सम्पूर्ण व्यवस्थापन संस्थाद्वारा नै गरिन्छ ।

धुलिखेलको एक चिसो बिहान थियो । कुहिरोले आकाश छोपेको थियो, तर हेल्प नेपाल नेटवर्क बालगृहको आँगनमा चहलपहल सुरु भइसकेको थियो । त्यहाँको एउटा कुनामा, सरिता किताब पढ्दै थिइन् । उनको अनुहारमा चञ्चल मुस्कान थियो, तर ती आँखाभित्र जीवनका थुप्रै कहानीहरू थन्किएका थिए ।

चितवनबाट सानो उमेरमा आइपुगेकी सरिता ११ वर्षदेखि यो बालगृहमा बस्दै आएकी छन् । ‘गाउँमा पढ्न पाइनँ, लाउन–खान पनि खासै थिएन,’ उनी भन्छिन्, ‘यहाँ आएपछि सबै कुरा फेरियो ।’ उनी अहिले कक्षा १२ मा अध्ययनरत छिन्, भविष्यमा विदेश जाने सपना बोकेकी छिन् । घर सम्झिन्छिन्, हजुरबा–हजुरआमाको काख सम्झन्छिन् ।‘बुबाआमा छैनन्,’ उनको स्वर बिस्तारै मन्थर हुन्छ ।

अर्को कोठामा अँशु चुपचाप गुनगुनाइरहेकी थिइन् । झापाबाट आएकी उनी हालै एसईई परीक्षा दिएकी हुन्– जिपिए ३.४४ । अब नर्स बन्ने सोच छ । ‘कहिले एकान्तमा गएर रुन्छु पनि,’उनी खुलाउँछिन्, ‘तर दुख–सुख त जीवनमा भइहाल्छ ।’
यसै वर्ष, बालगृहका चार जना बालिकाहरुहरुले एसईई परीक्षामा राम्रो अंकसहित उत्तीर्ण गरेका छन् । उनीहरुको अनुहारमा देखिएको आत्मविश्वासले मात्र पनि बालगृहले दिएको वातावरणको मूल्य थाहा पाइन्छ ।

त्यही बालगृहमा प्रतिज्ञा, विपना, रन्जना, मन्दिरा, राधा लगायतका २४ जना बालिकाहरू छन् । सबैको अनुहारमा छुट्टै कथा छन् । कोही अपांग, कोही अभिभावकविहीन, कोही त गाउँको गरिबीले ओत खोज्दै आइपुगेका । तर सबैको आँखामा एउटै चमक छ–उज्यालो भविष्यको ।

गाउँमा राम्रो शिक्षा थिएन, यहाँ आएपछि सबै बदलियो
प्रतिज्ञा सर्लाहीबाट आएकी हुन् । पढाइमा निकै रुचि छ । ‘साथीहरूसँगको सम्बन्ध यहाँ राम्रो छ,’ उनी मुस्काउँदै भन्छिन् । राधा भने सपनाको कुरा गर्दा भावुक हुन्छिन् । ‘बुबा आँखाले देख्नुहुन्न, म पैसा कमाएर उहाँलाई आँखाको अपरेशन गरिदिन चाहन्छु ।’

विपना साना–साना काममा सहाराको आशा गर्छिन्, तर पढाइमा कसैसँग पछि परेकी छैनन् । ‘साथीहरूले मलाई सहयोग गर्छन्,’ उनी गर्वका साथ भन्छिन् । रन्जनालाई होटल म्यानेजमेन्ट पढ्ने रहर छ, मन्दिरालाई नर्स बन्ने । ‘आमा–बाबाको सपना पुरा गर्न चाहन्छु,’ मन्दिरा भन्छिन् । ‘१२ पछि योजना बनाउँछु, घरको अवस्था हेरेर ।’

यी सबै बालिकाहरूको सहारा बनेका छन् – पूर्ण बहादुर कार्की र पुण्यवती घलेजस्ता समर्पित व्यक्ति । पूर्ण बहादुर भन्छन्, ‘सुरुमा द्धन्द्धपीडित बालबालिकाका लागि खोलिएको यो बालगृहमा अहिले १४ जिल्लाबाट बालिकाहरू छन् ।’ पुण्यवती घले, संस्थाकी व्यवस्थापक, छोरीहरूलाई आत्मनिर्भर बनाउन निरन्तर लागिपरेकी छिन् । सिलाई–कटाईदेखि टोक्वान्दोसम्म सिकाइन्छ यहाँ । ‘१२ कक्षा सकिएपछि विदाईमा पाँच–छ लाख बराबरको बीमा रकम दिइन्छ,’ उनी भन्छिन्, ‘छोरीहरूलाई आत्मनिर्भर बनाउनु नै हाम्रो लक्ष्य हो ।’

बालगृह केवल बस्ने ठाउँ होइन, यो त एउटा नयाँ परिवार हो । जहाँ हरेक बच्चाको कथा सुन्छन्, महसुस गर्छन् र उसलाई माया दिन्छन् । हरेक हप्ताको कला–साहित्य कक्षा, आत्मविश्वास बढाउने सत्र र समुदायसँगको अन्तरक्रियाले यी बालिकालाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ ।

हेल्प नेपाल नेटवर्कले आफ्नै स्रोत मात्र होइन, देश–विदेशमा रहेका मनकारी नेपालीहरुको साथबाट पनि यो यात्रा सम्भव बनाइरहेको छ । काभ्रे धुलिखेलको बालगृह एउटा उदाहरण हो । जब साना–साना सहयोगहरु एउटै लक्ष्यतर्फ जोडिन्छन्, तब त्यो सहयोग आश्रय बन्छ, शिक्षा बन्छ, अनि भविष्य बन्छ ।

हेल्प नेपाल बालगृह अन्तिम विकल्प हो, तर यहाँबाट सुरु भएका कथा अन्तिमसम्म पुग्छन् । यिनै बालिकाहरूको आँखामा सपना छ, हरेक गुनासोभन्दा ठूलो साहस छ । गाउँको गरिबी, असहायपन, पारिवारिक टुटफुटका बीचबाट उनीहरू यहाँसम्म आइपुगेका छन् – जहाँ ‘घर’ले उनीहरूलाई अँगालो हाल्छ, ‘स्कूल’ले सपना दिन्छ र ‘समाज’लाई एकदिन उनीहरूले फर्काएर दिन सक्ने बनाउँछ । यो मात्र कथा होइन, यो छोरीहरूका पुनर्जन्मको यात्रा हो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ४१ बजे