Logo

समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गर्ने तयारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नयाँ उपकुलपतिमा प्रा.डा. दीपक अर्याललाई नियुक्त गर्ने सरकारी तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार उनलाई आजै बालुवाटारमा छलफलका लागि बोलाइएको छ, र मन्त्रिपरिषद्को बैठकमार्फत नियुक्तिको निर्णय लिने सम्भावना छ।

सरकारी स्रोतहरूका अनुसार अर्यालको नाममा उच्चस्तरीय सहमति भइसकेको छ र प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्ने तयारी गरेको हो। आजैको सम्भावित बैठकबाट उनको नियुक्ति सार्वजनिक हुने लगभग निश्चितजस्तै देखिएको छ।

प्रा.डा. अर्याल दुई कार्यकाल जल तथा मौसम विज्ञान विभागको प्रमुखको रूपमा कार्य गरिसकेका अनुभवी वैज्ञानिक तथा प्रशासक हुन्। साथै, उनी वरिष्ठ साहित्यकार भैरव अर्यालका सुपुत्र पनि हुन्, जसले शैक्षिक क्षेत्रमै मात्र नभई साहित्यिक वृत्तमा पनि उनको नाम चर्चामा ल्याएको छ।

त्रिविमा लामो समयदेखि उपकुलपति पद रिक्त रहँदा प्रशासनिक निर्णय प्रक्रिया प्रभावित हुँदै आएको थियो। यस्तो परिस्थितिमा प्रा.डा. दीपक अर्याललाई नियुक्त गर्ने सरकारी तयारीले विश्वविद्यालयको नेतृत्वमा स्थायित्व र सक्रियता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०७ बजे