काठमाडौं, असार २३ — प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विष्णु पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथपछि अध्यक्ष कार्कीले बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गर्दै पदभार ग्रहण गरे। राष्ट्र बैंकको वालुवाटारस्थित कार्यालयमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर नीलम बुढाथोकी, बम बहादुर र बैंक निरीक्षण विभाग प्रमुख दिवस अधिकारीको उपस्थिति थियो।
त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका कार्कीले लोकसेवा आयोग, अर्थ मन्त्रालय, अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग, आन्तरिक राजस्व विभागलगायत निकायमा ३८ वर्षभन्दा बढी सेवा अनुभव छ। नेपाल टेलिकम, मेलम्ची खानेपानी र कृषि अनुसन्धान परिषद्मा सञ्चालक समितिका सदस्यका रूपमा पनि उनी संलग्न थिए।
२०७२ सालमा सञ्चालक समितिमा निर्वाचित भएका कार्की २०८१ सालमा भएको २३औं वार्षिक साधारणसभाबाट पुनः प्रतिनिधित्व गर्दै अध्यक्षमा चयन भएका हुन्।
बैंकले कार्कीको दीर्घ प्रशासनिक तथा आर्थिक अनुभवले प्रविधि र गुणस्तरीय सेवाको विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया