Logo

मुख्य समाचार

नेपाल बार एसोसिएसनले उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलनप्रति असहमति जनायो



काठमाडौं । उपभोक्ता अदालतको चिकित्सकहरूमाथिको कारबाहीसम्बन्धी फैसलाविरुद्ध सुरु गरिएको आन्दोलनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै बारले फैसलाको पूर्णपाठ नआउँदै विरोध गर्नु र अदालतको अवज्ञा गर्नु अस्वीकृत र अनुचित भएको बताएको हो।

बारले अदालतको फैसलासम्बन्धी बौद्धिक बहस गर्नु उपयुक्त हुने बताउँदै, फैसलाको पूर्णपाठ आएपछि मात्रै औपचारिक धारणा सार्वजनिक गरिने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय महत्त्वका एवं सार्वजनिक सरोकारका मुद्दाहरूमा अदालतबाट भएका फैसलाहरूको पूर्णपाठ प्राप्त भएपछि प्राज्ञिक अध्ययन गरी बारले धारणा सार्वजनिक गर्नेछ।”

नेपाल चिकित्सक संघले अदालतको फैसलाको विरोधमा आन्दोलन थालेको छ। संघले सोमबार देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। बारले नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल मेडिकल एसोसिएसनसँग छलफल भएको उल्लेख गर्दै समस्या संवादबाट समाधान गर्न सरकार र सरोकारवालालाई आग्रह गरेको छ।

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सीटी अस्पताल र हिमाल अस्पतालमाथि उपचारमा लापरबाही भएको ठहर गर्दै केही चिकित्सकलाई कारबाही गर्ने फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा नौवटा स्वास्थ्यसम्बन्धी संघसंस्थाहरूको समर्थनमा आन्दोलन जारी छ।

बारले कानुनी प्रक्रिया अन्तर्गत पुनरवलोकन वा पुनरावेदन गर्न सकिने व्यवस्था रहे पनि अदालतको फैसलाको अवज्ञा गर्नु न्यायिक मर्यादाविपरीत भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ८ : २५ बजे