Logo

समाचार

मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा



काठमाडौं । विवाहित नेपाली महिलाहरूका लागि सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला गरिएको छ ।

ललितपुरको पुलचोकस्थित स्क्वायर होटलमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले प्रतियोगिताको चौथो संस्करणको घोषणा गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगिता यस वर्ष अघिल्ला संस्करणहरू भन्दा अझ भव्य र व्यवस्थित ढंगले आयोजना गरिनेछ ।

उनले भने, ‘यसपटकको मिसेस नेपाल वल्र्ड प्रतियोगिता सौन्दर्य र प्रतिभाको मात्र नभई महिलाहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व उजागर गर्ने अभियानको रूपमा अघि सारिएको छ ।’

अध्यक्ष झाले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने जानकारी गराए ।

प्रतियोगिताको पहिलो चरणको अडिसन भने श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ । अडिसनबाट छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले कम्तीमा एस.एल.सी. उत्तीर्ण गरेको हुनुपर्छ । उचाइ, तौल वा अनुहारका कुनै विशेष मापदण्ड तोकिएको छैन ।

विवाहित महिलासँगै डिभोर्स भइसकेका वा एकल महिलाहरूले पनि आवेदन दिन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट मार्फत भर्न सकिनेछ ।

यस प्रतियोगिता अन्तरगत मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको उपाधि पनि प्रदान गरिनेछ । मिसेस नेपाल वल्र्ड विजेताले अमेरिका हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : १४ बजे