काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फन्ड’ आइतबारदेखि सर्वसाधारण तथा संघसंस्थाका लागि सार्वजनिक निष्कासन (IPO) तथा बिक्री खुला गरिएको छ। प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाईमध्ये न्यूनतम ६ करोड इकाई वा कुल बिक्री भएको इकाई संख्याको कम्तीमा १५ प्रतिशत बिक्री हुनुपर्नेछ।
उक्त योजनाअन्तर्गत कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले १.५ प्रतिशत अर्थात् १८ लाख इकाई र कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लिमिटेडले १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित राख्ने छन्। बाँकी न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री खुला गरिएको हो।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने यो योजना बन्दमुखी किसिमको म्युचुअल फन्ड हो, जसको अवधि १० वर्ष हुनेछ। प्रारम्भिक कोष आकार १ अर्ब २० करोड रुपैयाँ तोकिएको छ भने अत्यधिक माग भएमा १ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ। यस फन्डको इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध हुनेछ।
क्यापिटलका अनुसार योजनाले मुनाफाबाट लाभांश वितरण गर्नेछ भने बाँकी रकम पुनः लगानी गरिनेछ। यस योजना अन्तर्गत लगानी संरचना विविध प्रकारको रहेको छ। कुल लगानीमध्ये ७० देखि ९० प्रतिशत इक्विटीमा, ० देखि १० प्रतिशत ऋणपत्रमा, ० देखि १० प्रतिशत फिक्स डिपोजिटमा, र ० देखि १० प्रतिशत नगद, आईपीओ वा अन्य म्युचुअल फन्डहरूमा रहनेछ।
ग्लोबल आइएमई क्यापिटलले वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जसअनुसार १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। योजना अन्तर्गत आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत हुने र पहिलो ९ वर्षसम्म ८ देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने क्यापिटलको भनाइ छ। यसअघि सञ्चालनमा ल्याइएको समुन्नत योजना–१ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने फन्ड पुनःखरीदबाट १०.१६ प्रतिशत प्रतिफल दिएको थियो।
यस योजनाका इकाईहरूमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
सार्वजनिक निष्कासनका लागि गरिएको रेटिङमा कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई इन्फोमेरिक्स क्रेडिट रेटिङले IRN AMC Quality 3 (3) रेटिङ प्रदान गरेको छ। क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो, जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ। सन् २००८ मा स्थापना भएको यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कारोबारको लागि लाइसेन्स प्राप्त संस्थाको रूपमा परिचित छ।
प्रतिक्रिया